प्रस, रौतहट, ७ पुस/
“बेटीरोटीको सम्बन्ध तोड्न पाइँदैन, छोटी भन्सार कार्यालय चालू गर” नारा सहित गौर भन्सार कार्यालयअगाडि बाटो अवरुद्ध गरेर करीब आधा घण्टा सीमानाकाका बासिन्दाहरूले प्रदर्शन गरेका छन् ।

आइतवार सिमाना सङ्घर्ष समिति परोहा–९ ले गौरमा विरोध प्रदर्शन गर्दै भन्सार कार्यालयको ढाँट बन्द गरेर बाटोमैं धर्नामा बसेपछि करीब ३० मिनेटसम्म बाटो अवरुद्ध भएको थियो । बाटोमा बसेका बसिन्दाहरूले “बेटीरोटीको सम्बन्ध तोड्न पाइँदैन”, “छोटी भन्सार कार्यालय चालू गर” लगायतका विभिन्न चर्का नाराहरू लगाउँदै प्रदर्शन गरेका थिए ।

भारतको सिमानासँग जोडिएका रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १, २ र ४ का सीमानाकाबाट निर्बाधरूपमा गइरहेका चार चक्का सवारीसाधनलाई आवतजावतमा रोक लगाएपछि स्थानीयवासीहरू आन्दोलनमा उत्रेका हुन् ।

नेपाल सिमाना सङ्घर्ष समिति परोहा रौतहटद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्रसमेत बुझाएका छन् ।

सिमाना सङ्घर्ष समिति परोहा–९ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रजिअमार्फत बुझाएको ज्ञापनपत्रमा संविधानको धारा १६ ले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने, धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ मा सीमान्तको हक प्रदान गरेको छ, धारा ३७ ले आवासको हक, धारा ४२ ले सामाजिक न्यायको हक, धारा ४३ ले सामाजिक सुरक्षा हक र धारा ४६ ले संवैधानिक उपचारको हक प्रदान गरेको छ ।

त्यस भेगका बासिन्दाहरूलाई भारततर्फ जान र आउन निकै लामो रुट भएर जानुपर्ने बाध्यता भएकोले जिल्ला प्रशासन कार्यालयसहित विभिन्न निकायलाई ध्यानाकर्षण गराए पनि कुनै वास्ता नगरिएपछि ईशनाथ नगरपालिकाका मेयरसहित पूर्वमेयरलगायतका स्थानीय बासिन्दाहरू प्रजिअलाई ज्ञापनपत्र बुझाएर निरन्तररूपमा सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here