नेपालको सरकारी स्वास्थ्य प्रणालीमा चिकित्सक र स्वास्थ्यकर्मीको कार्यालय समयमा अनुपस्थिति एउटा गम्भीर समस्या हो । यो समस्या सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीमाथिको चुनौतीका रूपमा अघि आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस समस्यालाई समाधान गर्न चिकित्सकहरूको विद्युतीय हाजिरी प्रणाली लागू गर्ने, गुनासो सुन्ने संयन्त्र सक्रिय बनाउने र अनुपस्थित चिकित्सकलाई कारबाही गर्ने कदम चाल्नु स्वागतयोग्य छ । तर समस्या समाधानका लागि यी प्रयास पर्याप्त हुन सक्दैन । सरकारी अस्पतालमा चिकित्सक अनुपस्थित हुनुका धेरै कारण छन् । प्रथमतः अधिकांश चिकित्सक निजी अस्पतालमा आबद्ध छन् । उनीहरू सरकारी कार्यालय समयमा पनि आफू सम्बद्ध निजी अभ्यासलाई प्राथमिकता दिने गरेको पाइन्छ । निजीतर्फ भौतिक उपस्थिति त छँदैछ, सरकारी अस्पतालमा उपस्थित रहेका बेला पनि उनीहरू निजीकै लागि काम गरिरहेका हुन्छन् । सरकारीमा आइपुगेका बिरामीलाई निजी अस्पतालमा पठाएर थप आर्थिक फाइदा उठाउने प्रवृत्ति हाम्रो सरकारी अस्पतालका चिकित्सकहरूमा व्यापक छ । अनुपस्थितिको मात्रै कुरा गर्दा चिकित्सकहरूको सरुवा प्रक्रिया पारदर्शी नहुनु पनि एक समस्या हो । सरुवा भएको ठाउँमा नजाने र अटेर गर्ने प्रवृत्तिले सरकारी अस्पतालहरूमा चिकित्सक अभावको समस्या बढाएको छ । यसका साथै ग्रामीण र दुर्गम क्षेत्रमा सेवा गर्न अनिच्छा राख्ने प्रवृत्तिले समस्या थप गहिरो बनाएको छ ।
सरकारी अस्पतालमा चिकित्सकको अनुपस्थिति भनेको सर्वसाधारण बिरामी उपचारको पहुँचबाट वञ्चित हुनु हो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरू निजी अस्पतालको महँगो शुल्क बेहोर्न नसक्ने अवस्थामा छन् । उनीहरूका लागि सरकारी अस्पताल नै एकमात्र विकल्प हो । तर त्यहाँ चिकित्सक फेला नपर्दा बिरामीहरू निराश भएर फर्कन्छन् । चिकित्सकलाई बिरामीहरूले ‘भगवान्’ मान्छन् । तर यी ‘भगवान्हरू’ जब आफ्नो निजी लाभका लागि बिरामीलाई दोहन गर्छन्, त्यसले समाजमा स्वास्थ्य सेवाप्रति भरोसा कमजोर बनाउँछ । उपचार पाउने अधिकार संविधानले सुनिश्चित गरेको मौलिक हक हो । यो हकलाई कमजोर बनाउनु सरकार र स्वास्थ्यकर्मी दुवैको जिम्मेवारीबाट भाग्नु हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक अनुपस्थितिको समस्या समाधान गर्न थालेका प्रयासहरू सकारात्मक छन् ।
विद्युतीय हाजिरी लागू गर्नु, गुनासा सुनवाइ संयन्त्र सक्रिय बनाउनु र दोषी चिकित्सकलाई कारबाहीको चेतावनी दिनु जस्ता कदमहरूले समस्या समाधानको आशा जगाएको छ । तर यी प्रयास दीर्घकालीन समाधानका लागि पर्याप्त भने होइनन् । समस्याको जरा गहिरो छ । यसलाई समाधान गर्न थप ठोस र व्यवस्थित कदम चाल्नुपर्छ । चिकित्सकले कार्यालय समयमा निजी अस्पतालमा संलग्न हुने प्रवृत्तिलाई तत्काल रोकिनुपर्छ । कार्यालय समयमा निजी प्राक्टिस प्रतिबन्धित गर्न कानूनी प्रावधान र कडा अनुगमन आवश्यक छ । त्यसैगरी, दुर्गम क्षेत्रमा चिकित्सकलाई सेवा दिन प्रोत्साहनस्वरूप थप सुविधा र प्रोत्साहन प्रदान गर्नुपर्छ । यसले दुर्गम एवं ग्रामीण क्षेत्रमा चिकित्सक अभावलाई कम गर्न मद्दत पु¥याउँछ । यसका साथै गुनासा सुनवाइ र गुनासा सम्बोधन प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ । ‘हेलो स्वास्थ्य १११५’ जस्ता संयन्त्रलाई थप सशक्त र उत्तरदायी बनाइनुपर्छ ।