प्रस, वीरगंज, ६ पुस/
बालविकासदेखि प्रावि तह कक्ष्Fा पाँचसम्म पिस फर दलित्स फाउन्डेशन नेपाल पर्साले दुईवटा पालिकाका पाँच स्थानमा निश्शुल्क ट्युशन दिंदै आएको छ । अहिले जाडोको मौसममा पनि दुई समयमा बिहान–बेलुका दुई/दुई घण्टा निश्शुल्क ट्युशन जारी छ तर ट्युशन पढाउनको लागि उचित स्थान नहुँदा दलित बालबालिकाहरू चीसोमा खुला आकाशमुनि सडकमा बोरा बिछ्याएर ट्युशन पढ्दैछन् ।
सखुवाप्रसौनी गाउँपालिकाको चार स्थान र वीरगंज महानगरपालिकाको एक स्थान गरी पाँच स्थानमा मुसहर, चमार, दुसाध, मुस्लिम समुदायका बालबालिकाहरूलाई निश्शुल्क ट्युशन पढाउने काम भइरहेको छ । फाउन्डेशनले अमेरिका, अस्टे«लियामा रहेका नेपालीहरूको सहयोगमा ट्युशन सञ्चालन हुँदै आएको र यसमा स्थानीय पालिकाले अहिलेसम्म कुनै सहयोग नगरेको बताएको छ । पिस फर नेपाल दलित्स फाउन्डेशन मधेस प्रदेशका अध्यक्ष मनोज रामले निश्शुल्क ट्युशनको व्यवस्था गरेदेखि विद्यालयमा टिकाउ हुने दलित बालबालिकाको सङ्ख्या ७० प्रतिशत बढेको र उत्तीर्ण हुने सङ्ख्या ६० प्रतिशतले वृद्धि भएकोे बताए ।
दलित भएको कारण र शिक्षामा कमजोर र अन्य समुदायका बालबालिकाबाट हेपिनुपर्दा शिक्षामा दलित समुदायको भागीदारी न्यून रहेको तर अहिले अवस्था क्रमिकरूपमा सुध्रिंदै गएको छ । समानरूपमा शिक्षा हासिल गर्ने अवसर दलितका बालबालिकाहरूले पनि प्राप्त गरिरहेको र यसको कारण ट्युशन बताइएको छ । अन्य समुदायका बालबालिकासँगै उनीहरूको पनि शिक्षामा पहुँच बढेको र योसँगै विद्यालयमा हेपिने क्रम पनि कम भएको अध्यक्ष रामले बताए ।
बिहान ७ बजेदेखि ९ बजसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म दुई पालिकाका पाँच स्थानमा निश्शुल्क ट्युशन सञ्चालनमा छ । ट्युशन सञ्चालनको लागि नजीकको विद्यालय पायक नपरेको कारण सडक र चौरमा खुला आकाशमुनि अध्यापन गराउनुपर्ने बाध्यता रहेको अध्यक्ष राम बताउँछन् । ट्युशनमा होमवर्क गराउने, नबुझेको कुरा सिकाउने र केही होमवर्क दिने कार्य गर्दै आएको र यसले दलित बालबालिकाको पढाइमा ठूलो मदत पुगेको उनी बताउँछन् ।
पाँच स्थानमा करीब हजारभन्दा बढी दलित बालबालिकाहरू निश्शुल्क ट्युशन लिइरहेका छन् । वर्षाको बेला ट्युशन प्रभावित भएपनि अन्य बेला प्रतिकूल मौसमको बावजूद ट्युशनले निरन्तरता पाइरहेको उनले बताए । जाडोयाममा विद्यार्थी सङ्ख्या थोरै घटेको तर यसको उचित व्यवस्थापनको लागि पालिकाहरूले पहल नगरेको उनले गुनासो गरे ।
दलितहरूको हकमा पालिकाहरूले बजेट विनियोजन नगर्ने र यसमा तीनै तहका निर्वाचित जनप्रतिनिधिहरू उदासीन देखिएको रामले आरोप लगाए । केन्द्र, प्रदेश र पालिका तहमा निर्वाचित जनप्रतिनिधिहरूले दलितहरूको लागि बजेट विनियोजन गर्ने, अन्य केहीमा नभए पनि उनीहरूको शिक्ष्Fा, स्वास्थ्य र कृषिमा पहुँच बढाउने उनको माग छ । अहिले पर्सा जिल्लाका तीनै तहका जनप्रतिनिधिहरूले दलितहरूको लागि आवाज नउठाएको र कम्तीमा आश्वासन मात्र दिए पनि ठूलो ढाढस हुने उनी बताउँछन् ।
पर्सा जिल्लाका सबै १४ पालिकामा दलित छन् । सबैभन्दा बढी पर्सागढी र सखुवाप्रसौनीमा दलितहरू छन् । जिल्लाको कुल जनसङ्ख्याको ३० प्रतिशत अर्थात् करीब डेढ लाखको हाराहारीमा दलितहरूको सङ्ख्या रहेको अध्यक्ष रामले बताए ।