प्रस, वीरगंज, ६ पुस/
मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्रीले बारा जिल्लाको करैयामाई गाउँपालिका–५ तेतरियास्थित साना किसान सहकारी संस्थाको १४औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै विभिन्न सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गरेका छन् ।
उनले जीतपुरसिमरा उपमहानगर–१४ डुमरवानामा रहेको साना किसान सहकारी संस्था तथा मनहर्वा र कोल्हवी नपा–४ सपहीस्थित साना किसान सहकारी संस्थाको अनुगमन तथा निरीक्षण गरेका थिए ।
अनुगमनको क्रममा मन्त्री क्षत्रीले सहकारी संस्थाहरूको कामको प्रशंसा गर्दै सहकारी संस्थाले धान भण्डारण र दूध सङ्कलन केन्द्र स्थापना गरी किसानहरूलाई बिक्री वितरणका लागि सहज बनाएको बताए । उनले जनमुखी कार्य गर्ने सहकारी संस्थाहरूलाई विशेष प्याकेज र अनुदान दिने प्रतिबद्धता पनि जाहेर गरे । उनले दुई/चार वटा खराब कृषि सहकारी संस्थाले गरीब किसान, मजदूरको रकम ठगी गरी सहकारी क्षेत्रलाई नै बदनाम गर्न खोजेको भन्दै त्यस्ता संस्थाहरूलाई कानूनी दायरामा ल्याइ सरकारले कारबाही गर्ने बताए ।
कार्यक्रममा नेका मधेस प्रदेश सहमहामन्त्री जयनारायण यादव, पर्सा जिल्ला सदस्य हरिन्द्र यादव, कृषि डाइरेक्टर जीतेन्द्र यादव, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साहको सहभागिता थियो ।