• नवराज रिजाल

“हजुर, त्यो नफालौं, भोको छु । काम गर्न सक्दिनँ । पेट बाउडिएको छ । हिंड्डुल गर्न अशक्त छु,” कन्टेनरनजीकै बोरा ओडेर बसेको माग्ने युवक चिच्यायो ।

ऊ असमञ्जमा प¥यो । के गर्ने ? हातमा हिजो बेलुका बढी भएको छ । केटाकेटीले छाडेको र बढी भएको खानेकुरा उनीहरू टमीलाई पनि दिंदैनन् ।

“कल्याण हुनेछ, वैकुण्ठमा बास … ” ऊ झस्क्यो, आँखामा आँसु डबडबाए । मौन भाषामा केही गुनुनाएको अनुभूत ग¥यो । अश्रुपूरित नयन हातको खानेकुरामा टक्क अडिए । सम्भवतः यतिखेर उसको गन्तव्य त्यत्ति हो ।

सोच समुद्रमा चुर्लुम्म डुब्छ । जहिले पनि खाना मीठो हुँदैन । स्वास्नी चिच्याउँदै कराउँछे । भान्से केटाको अनुहार हरेक साँझ–बिहान औंसीको रात बन्छ । रिस छोराछोरी, ऊ र बुबा–आमामा पोखिन्छ । त्यतिखेर चुपचाप बस्नुमैं कल्याण भएकाले आत्मसात् गर्छ । पहाडको सामान्य निम्न मध्यम वर्गीय परिवारमा दुःखैले शिक्षा आर्जन ग¥यो, मेहनतको फल मीठो भयो । कलेजमा सर्वोत्कृष्ट छानियो । विदेश जाने अवसर मिल्यो । त्यहाँबाट फर्कने बित्तिकै विवाह भयो ।

“हजुर पाऊँ न, के सोचिरहनुभएको ? प्राण बच्छ । आत्माले आशीर्वाद दिनेछ,” ऊ झल्याँस्स भयो । माग्नेको हात अझै ऊतिरै उठिरहेको छ । कन्टेनरमा फाल्न लागेको खानाको पोको हातमा राखिदिन्छ । माग्नेको अनुहार धपक्क बल्यो तर उसका आँखामा स्वास्नीको तस्वीर नाचिरह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here