नेपालको औद्योगिक विकासका दृष्टिले हेटौंडा औद्योगिक क्षेत्रको स्थान र उद्देश्य महŒवपूर्ण छ । यस क्षेत्रको स्थापना विसं २०२० सालमा भएको हो । यसको उद्देश्य नेपालमा औद्योगिक विकासलाई गति दिनु, रोजगार सिर्जना गर्नु र समग्र अर्थतन्त्रमा योगदान पु¥याउनु थियो । तर लक्ष्यमा नपुग्दै स्थापनाको केही वर्षपछि नै यो क्षेत्र समस्यामा पर्न थाल्यो । बन्द रहेका उद्योग र विभिन्न समस्याले औद्योगिक क्षेत्र स्थापनाका उद्देश्य र उत्साहहरू निराश हुने अवस्थामा पुगेका थिए । यसैबीच अब भने पुनः उत्साहका साथ उद्योगहरू सञ्चालनमा आउन थालेका छन् । हाल १२७ वटा उद्योग यस क्षेत्रमा नियमितरूपमा सञ्चालित छन् भने १२ वटा नयाँ उद्योग निर्माणधीन अवस्थामा छन् । आउँदो दुई वर्षभित्र उक्त उद्योगहरू पनि सञ्चालनमा आउने निश्चित भएको छ । अब भने यस क्षेत्रको भविष्य आशाजनक देखिन थालिएको छ । यस क्षेत्रको पहिलो र प्रमुख समस्या भनेको औद्योगिक पारिस्थितिकीमा आएको अव्यवस्था थियो । शुरूमा स्थापना भएका उद्योगहरूको सञ्चालनमा नै समस्या आयो । कच्चा पदार्थको अभाव, असहज व्यवस्थापन र स्थानीय सरकारले उद्योगका लागि आवश्यक संरचनाहरू बनाउन नसकेको कारणले यस क्षेत्रको विकास अवरुद्ध भएको थियो । धेरै उद्योग आर्थिक सङ्कटको सामना गर्दै बन्द भए । यसले औद्योगिक क्षेत्रको स्थायित्वमा प्रश्न उठाएको थियो । औद्योगिक क्षेत्रमा केही उद्योगहरूले सस्तो जग्गा र सहुलियतमा लगानी गर्ने प्रलोभनमा उद्योग स्थापना गर्नका लागि सम्झौता गरे तर संरचनाको अभाव र अपेक्षित बजेट नहुँदा ती उद्योगहरू सञ्चालनमा आउन सकेनन् । समग्र औद्योगिक क्षेत्रको विकासमा यसले ठूलो अवरोध पु¥याएको थियो ।
तर अहिले हेटौंडा औद्योगिक क्षेत्रमा फेरि जीवनको सङ्केत देखिन थालेका छन् । अहिले निर्माणाधीन १२ वटा उद्योग ठूला र बहुराष्ट्रिय कम्पनी संलग्न उद्योगहरू हुन् । आगामी दुई वर्षमा यी उद्योगहरूले उत्पादन शुरू गर्ने योजना बनाएका छन् । यसका साथै केही पुराना उद्योगहरू पनि पुनः सञ्चालनमा आएका छन् र यसले यस क्षेत्रप्रति उद्योगीहरूको विश्वासलाई एकपटक पुनः सुदृढ गरेको छ । हेटौंडा औद्योगिक क्षेत्रको पुनर्जीवनका मुख्य कारणहरूमा पहिलेको व्यवस्थापन समस्यामा सुधार, सरकारी सहुलियत र सशस्त्र प्रहरी सुरक्षा स्थपना गर्न पाएको सफलताले हो । यी पहलहरूले उद्योगीहरूलाई सुरक्षित र व्यवस्थित वातावरण दिएको छ, जसले नयाँ उद्योगहरूलाई आकर्षित गरेको छ ।
पुनर्जीवित हुन थालेको यस औद्योगिक क्षेत्रका लागि राज्यको भूमिका महŒवपूर्ण छ । औद्योगिक क्षेत्र व्यवस्थित गर्नका लागि सरकारले आवश्यक बजेट र आर्थिक प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । यस क्षेत्रमा अझै पनि आवश्यक संरचनाहरू जस्तै निर्माणाधीन उद्योगहरूका लागि उपयुक्त स्थल, विद्युत् आपूर्ति र माटो परीक्षण जस्ता आधारभूत संरचनामा सुधार आवश्यक छ । सरकारी संरचनात्मक सुधार र अव्यवस्थापनको सुधारले मात्र यहाँको औद्योगिक क्षेत्रलाई दीर्घकालीन सफलता प्राप्त हुन सक्छ । अर्को कुरा सरकारी निकायहरूको समन्वय महŒवपूर्ण छ । हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक र उद्योगीहरूको सहकार्यले मात्रै यस क्षेत्रमा उद्योगहरूको द्रुत विकास र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सक्छ । यस क्षेत्रको सुव्यवस्था एवं संरक्षणका लागि स्थानीय सरकारले अभिभावकीय भूमिका निभाउन सक्नुपर्छ ।