बलिराम शुक्ला, बिरुवागुठी, ३ पुस/
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ सखुनिया शान्ति टोलको वन क्षेत्रमा लगाइएको अवैध गाँजाखेती बुधवार ट्याक्टरले जोतेर नष्ट गरिएको छ ।
डिभिजन वन कार्यालय पर्सा र विन्ध्यवासिनी कोइलाभार साझेदारी वनको संयुक्त पहलमा कात्तिक १२ गते वन क्षेत्रभित्र लगाइएको गाँजाखेती नष्ट गरिएको थियो । सोही क्षेत्रमा पुनः गाँजा देखिएपछि सुरक्षाकर्मीको सहयोगमा ट्याक्टरले जोतेर करीब छ बिघा क्षेत्रफलमा लगाइएको गाँजाखेती आज नष्ट गरिएको डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदले बताए ।
प्रमुख अहमदका अनुसार कात्तिकमा गाजा पँmडानी गरेको स्थलमा केही बचेका गाँजाका बोट र नष्ट भएको ठाउँमा अन्य ठाउँबाट बिरुवा ल्याइ गाँजा रोपिएपछि आज तीनवटा ट्याक्टरको सहयोगले जरैदेखि छ बिघामा लगाइएको गाँजाखेती र सात कट्ठाको तोरीबाली नष्ट गरिएको बताए ।
विन्ध्यवासिनी कोइलाभार साझेदारी वनका अध्यक्ष रिजवानुल हक अन्सारीका अनुसार गाँजा नष्ट गरिएको क्षेत्रमा साझेदारीले वृक्षारोपण गर्ने तयारी गरेको बताए । आज सशस्त्र प्रहरी बल बागेश्वरी, इलाका प्रहरी कार्यालय, एकटाँगा र सो मातहत रहेको प्रहरी चौकीको सहयोगमा आज गाँजाखेती नष्ट गरिएको र साझेदारीको जग्गा अब अतिक्रमण हुन नदिने बताइएको छ ।
डिभिजन वन कार्यालय, पर्साले दुर्ई वर्ष अगाडि लाखौं रकम खर्चेर ४० हेक्टर वन क्षेत्रमा तारबारसहित वृक्षारोपण गरेको स्थलमा वन कार्यालयको लापरवाहीका कारण स्थानीयहरूले वृक्षारोपण मासी गाँजाखेतीका साथै विभिन्न बाली लगाउने गरेका छन् । सो क्षेत्रमा अहिले गाँजा, तोरीलगायत अन्य बालीहरू लगाइएको छ ।