प्रस, धनुषा, २ पुस/
मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचारीलार्ई आजीवन कारावास हुनुपर्ने कुरामा जोड दिएका छन् ।
जनकपुरधाममा मङ्गलवार आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तक्र्रियामा उनले भ्रष्टाचार गर्नेलाई आजीवन कारावास गर्दा भ्रष्टाचारमा कमी आउने बताएका
थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको सो कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान कानून अपर्याप्त रहेको भन्दै राजनीतिक नेता–कार्यकर्ता तथा कर्मचारीले विलासी जीवनशैली जिउने चाहना राख्दा भ्रष्टाचार बढिरहेको औंल्याएका थिए । कर्मचारीको तलब कम भएकाले पनि जीवनयापनका लागि भ्रष्टाचार गर्ने बाध्यता हुन सक्ने हुँदा आवधिक किसिमले तलब बढाउँदै जान उनले जोड दिएका थिए ।
तलब वृद्धि गर्दा पनि कसैले भ्रष्टाचार गर्छ भने कडा सजायको व्यवस्था गर्ने, सूचनाको हक नागरिकसम्म विस्तार गर्ने परम्परा बसाल्न सके भ्रष्टाचार स्वतः कम हुने उनको दाबी थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजूरी परेन भने भ्रष्टाचार बढ्ने दाबी गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू भौतिक पूर्वाधार विकास–सरोजकुमार यादव, शिक्षा तथा संस्कृति–रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानून– राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या–शत्रुघ्नप्रसाद सिंह, अर्थ– सुनीलकुमार यादव, ऊर्जा, सिंचाइ तथा खानेपानी–शेषनारायण यादव, उद्योग, वाणिज्य तथा पर्यटन–शकील अलि मियाँ र श्रम तथा यातायात–कौशलकिशोर रायको उपस्थितिका साथै प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला समन्वय समितिका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साह, स्थानीय तहका प्रमुख र उपप्रमुखहरूलगायतको सहभागिता थियो ।