“अङ्गदान जीवनदान हो” यो नारामा मानवताको गहिरो भावना प्रतिविम्बित छ । मानिसको मृत्युपछि जलाउँदा वा गाड्दा खेर जाने अङ्गहरूले कसैको जीवन बचाउन सक्छ । अङ्गदान धार्मिक तथा मानवीय हिसाबले महान् कार्य हुनुका साथै यो आधुनिक चिकित्सा विज्ञानसँग जोडिएको एउटा अनमोल योगदान पनि हो । नेपालजस्तो स्वास्थ्य सेवामा चुनौती झेलिरहेको देशका लागि अङ्गदानलाई प्रभावकारीरूपमा अघि बढाउनु समयको माग हो । मानिसको मृत्युपश्चात् शरीरका प्रयोगयोग्य अङ्गहरू जस्तै मुटु, कलेजो, मिर्गौला, छाला, आँखाको नानी, फोक्सो, हड्डी आदि अर्का बिरामीको जीवन बचाउन महŒवपूर्ण हुन्छन् । अङ्गदानका कारण विश्वभर हजारौंले वार्षिक नयाँ जीवन पाएका उदाहरणहरू छन् । अङ्गदानका लागि कुनै जात, धर्म र सामाजिक प्रतिष्ठाको हिसाबले भेदभाव हुँदैन । यो विशुद्ध मानवसेवाको भावले प्रेरित हुने प्रक्रिया हो ।

नेपालमा अङ्ग प्रत्यारोपणको आवश्यकता व्यापक छ । विशेषगरी मिर्गौला प्रत्यारोपणका लागि धेरै बिरामी विदेश जान बाध्य छन् । यस्तो अवस्थामा अङ्गदानको प्रचलनलाई बढावा दिन सकियो भने ठूलो सङ्ख्यामा नेपालीको जीवन जोगाउन सकिन्छ । हाम्रो देशमा अङ्गदानसम्बन्धी चेतनाको स्तर अझै न्यून छ । आधुनिक चिकित्सा सेवा विस्तारसँगै अङ्ग प्रत्यारोपणको सम्भावना बढेको छ । तर यसका लागि आवश्यक अङ्गको भने अभाव छ । मिर्गौलाका बिरामी मात्र लिने हो भने पनि मुलुकमा वार्षिक तीन हजारजनाभन्दा बढी व्यक्तिलाई मिर्गौलाको आवश्यकता छ । त्यसैगरी, नेत्रहीन व्यक्तिहरूका लागि कोर्निया (नानी) प्रत्यारोपणको सङ्ख्या अत्यन्तै न्यून छ । मृत्युपछि कलेजो वा मुटु दान गर्ने संस्कार नेपालको सामाजिक संरचनामा अझै राम्रोसँग स्थापित भएको छैन । अङ्गदान तथा प्रत्यारोपणको लागि नेपाल सरकारले मानव अङ्ग प्रत्यारोपण नियमन तथा नियन्त्रण ऐन, २०५५ को व्यवस्था गरेको छ । ऐन अनुसार व्यक्तिले जीवित छँदै मृत्युपछि आफ्नो अङ्गदान गर्ने स्वीकृति दिनुपर्छ । नेपालका केही अस्पताल जस्तै त्रिवि शिक्षण अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्र अङ्ग प्रत्यारोपणका लागि सक्षम छन् । अङ्गदान गरेका जीवित दाताहरूको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने प्रावधान छ । सरकारले अङ्गदानको महŒवबारे जनचेतना फैलाउन विभिन्न प्रयास पनि गरेको छ । तर यी प्रयासहरू पर्याप्त प्रभावकारी भएका देखिंदैनन् ।

नेपालमा अङ्गदानको अभ्यास विश्वव्यापीस्तरमा देखिएको प्रभावकारिताभन्दा निकै कम छ । धार्मिक र सांस्कृतिक मान्यताले अङ्गदानलाई पूर्णरूपमा स्वीकार नगर्दा यो प्रचलनले गति लिन नसकेको एउटा पक्ष छ भने जनचेतनाको अभावका कारण पनि अङ्गदान प्रभावकारी हुन सकेको छैन । धेरैजसो मानिसलाई अङ्गदानबारे जानकारी नै छैन । “मृत्युपछि अङ्ग दिने हो भने शरीर अधूरो हुन्छ” भन्ने गलत धारणा समाजमा व्यापक छ । यसलाई चिर्न सकिएको छैन । अङ्गदानसम्बन्धी ठोस र प्रभावकारी कार्यक्रमको कमीले गर्दा यो समस्या आएको हो । अङ्गदानलाई प्रभावकारी बनाउन विद्यालय र कलेजस्तरमैं यसबारे शिक्षा दिने व्यवस्था गर्नुपर्छ । त्यसैगरी, मीडिया, सामाजिक सञ्जाल र सामुदायिक कार्यक्रममार्फत अङ्गदानको महŒवबारे जनचेतना फैलाउन जरुरी छ । मृत्युपछि अङ्गदान गर्ने व्यक्तिका परिवारजनलाई सम्मान गर्ने कार्यक्रमहरू ल्याइनुपर्छ । यसले अरूलाई पनि प्रोत्साहित गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here