धर्मेन्द्र चौरसिया, पोखरिया, १ पुस/
पर्सा जिल्लाको ठोरीलगायत थरुहट क्षेत्रमा अहिले सुर्तीखेती गर्ने किसानहरू व्यस्त छन् । वर्षको दुईपटक सुर्तीखेती गरिन्छ र नगदेबालीको रूपमा रहेको यो खेतीप्रति यस क्षेत्रका किसानहरूको आकर्षण बढ्दो छ ।

ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका किसानहरूले सुर्तीखेती गर्दै आएका छन् ।

प्रतिकट्ठा सुर्तीखेतीमा रु चार हजार खर्च र १५ हजार आम्दानी हुने हुँदा किसानहरूको आकर्षण बढेको हो । एक कट्ठामा ९० किलो सुर्ती उत्पादन हुने गर्छ । नेपालभरि सुर्तीखेती हुने गरेकामा यो जिल्लाबाट ८० प्रतिशत उत्पादन हुने गरेको छ । सुर्तीखेती पर्सा, बारा, रौतहट, धनुषा, सिराहा र नवलपरासीसम्म हुने गर्छ ।

यो क्षेत्रमा हुने सुर्तीखेतीलाई बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपालले खरीद गर्दै आएको छ । एचबी र बर्ली जातको सुर्तीखेती हुने गर्छ र यसलाई सूर्य नेपालले खरीद गर्छ । सूर्य नेपालले सुर्तीखेती गरेका किसानहरूलाई बीउ, मल, त्रिपाल र गोठ निर्माणको लागि निब्र्याजी ऋण उपलब्ध गराउँदै आएको किसान छविलाल श्रेष्ठ बताउँछन् ।

उत्पादित सुर्ती खरीद गर्दा सूर्य नेपालले किसानहरूलाई दिएको ऋण कट्टा गरी बाँकी रकम उपलब्ध गराउँछ । लगानीको समस्या नरहेको र उत्पादनपछि भुक्तानी सहजरूपमा पाउने हुँदा सुर्तीखेतीप्रतिको आकर्षण बढिरहेको हो । जङ्गली क्षेत्रसँग जोडिएको पर्सा जिल्लाका पालिकाहरूमा सुर्तीखेती हुँदै आएको छ । जङ्गली जनावरले सुर्तीखेतीलाई क्षति नपार्ने हुँदा यसको खेती गर्न किसानहरू रुचाएका हुन् । अन्य खेती गर्दा जङ्गली जनावर, पशुपक्षीले बाली नष्ट गर्ने हँुदा किसानहरू सुर्तीखेतीप्रति आकर्षित भएका हुन् ।

सुर्तीखेती वर्षमा वैशाख र असोज महीनामा शुरू हुने र छ महीनामा तयारी भएर बिक्रीसमेत भइसक्छ । बर्ली जातको चार सय हेक्टर र एचबी जातको तीन सय हेक्टर जमीनमा बर्सेनि सुर्तीखेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here