प्रस, सिम्रौनगढ, १ पुस/
सिम्रौनगढ नगरपालिका–७ कङ्काली माविमा सोमवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
तिलगङ्गा आँखा अस्पताल, निजगढको प्राविधिक सहयोग र सिएमए सङ्घ तथा सिम्रौनगढ नपाको संयुक्त आयोजनामा आज भएको शिविरको उद्घाटन नगरप्रमुख किशोरीप्रसाद कलवारले गरेका थिए ।
उद्घाटनसत्रमा प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले स्वागत र सहजीकरण स्वास्थ्य संयोजक विजय ठाकुरले गरेका थिए ।
सिएमए सङ्घ, सिम्रौनगढका अध्यक्ष प्रमानन्दप्रसाद मुखियाको अध्यक्ष्Fतामा भएको शिविरमा ५२१ जनाको आँखा परीक्षण भएकामा १८५ जनामा मोतीबिन्दु देखिएको तिलगङ्गा आँखा अस्पताल, निजगढका प्रमुख दीपक सुवेदीले बताए । उनको नेतृत्वमा डा गजेन्द्रकुमार महतो, डा कुमारी घले, डा काजल कुमारीले आँखा परीक्षण गरेका थिए । मोतीबिन्दु भेटिएका १८५ जनाको आगामी शुक्रवार पुस ५ गते तिलगङ्गा आँखा अस्पताल निजगढमा निश्शुल्क शल्यक्रिया गरिने सिएमए सङ्घका सचिव मिश्रीलाल चौरसियाले बताए ।