प्रस, वीरगंज, ३० मङ्सिर/
आशा किरण केन्द्र, वीरगंजको १०औं स्थापना दिवसको अवसरमा आगामी पुस ५ गते वीरगंजको नगर सभागृहमा नेपालका प्रख्यात सङ्गीतकार आनन्द कार्कीको समूहले साङ्गीतिक कार्यक्रम आयोजना गर्ने आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।
सङ्गीतकार कार्कीको समूहले केन्द्रमा रहेका ४० जना सुस्तःमनस्थिति, मस्तिष्क पक्षघात एवं विभिन्न कारणले मानसिकरूपमा अपाङ्ग भएका बालबालिकाहरूको उचित स्याहारसुसार, पठनपाठनमा सहयोग पु–याउने उद्देश्यले साङ्गीतिक कार्यक्रम गर्न लागेको केन्द्रका अध्यक्ष राजन श्रीवास्तवले बताए।
उनले सो कार्यक्रममा सहभागिताका लागि सहयोगबापत जनही दुई हजार सङ्कलन गरिने र रात्रिभोजको समेत व्यवस्था गरिने बताए। कार्यक्रमबाट बचेकोे रकमबाट केन्द्रमा रहेका ४० जना सुस्तःमनस्थिति, मस्तिष्क पक्षघात एवं विभिन्न कारणले मानसिकरूपमा अपाङ्ग भएका बालबालिकाहरूको उचित स्याहारसुसार र पठनपाठनमा खर्चिने बताए। १० वर्ष अघि सुनील गुप्ताले सुस्तःमनस्थिति, मस्तिष्क पक्षघात एवं विभिन्न कारणले मानसिकरूपमा अपाङ्ग भएका बालबालिकाहरूको स्याहारसुसार गर्ने अभिप्रायले संस्था सञ्चालनमा ल्याएका थिए। पत्रकार सम्मेलनमा वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं केन्द्रका आजीवन सदस्य गणेश लाठ, सदस्य नूतन सरावगीलगायतको सहभागिता थियो।