प्रस, परवानीपुर, २८ मङ्सिर/
बाराको पञ्चवर्षीय मेला गढीमाईको हिसाबकिताब पुस १ गतेदेखि शुरू गरिने मेला समितिले तयारी गरेको छ । मेला समितिका प्रवक्ता विजय स्वर्णकारले दिएको जानकारी अनुसार पुस पहिलो सातासम्म गढीमाई मेलाको आयव्ययको हिसाब सार्वजनिक गरिनेछ । उनले मङ्सिर २९ गते शनिवार र ३० गते उधौली पर्वले गर्दा सार्वजनिक बिदा भएकोले मेलामा भीडभाड बढ्ने अनुमान छ । साथै मेला आंशिकरूपमा माघ १ गतेसम्मै चल्ने मेला समितिले जनाएको छ ।
अहिले पनि मेलाका मनोरञ्जनका साधनहरूमा थिएटरबाहेक अन्य साधनले सेवा दिइएको उनले बताए । मेलाको मुख्य आकर्षणका केन्द्रहरूमा ठूलठूला टावर रोटे पिङ, मौतका कुवा, सर्कस र थिएटर रहेका छन् । हाल थिएटरबाहेक सबै साधनले सेवा दिइरहेका छन् । थिएटरमा ३०० र ५०० को टिकट लगाइएको थियो भने अन्य मनोरञ्जनका साधनमा रु सयको ईटिकट राखिएको थियो । तर मेला समितिले मनोरञ्जनका साधनका सञ्चालकहरूसँग कति प्रतिशतको भाडबन्डामा ती साधन चलाउन अनुमति दिइएको त्यसबारेमा केही खुलाएको छैन ।
मेलामा मनोरञ्जनका साधनहरूप्रति भक्तजनहरू अत्यधिक रमाएका थिए । मौतका कुवा र झुलुवाहरूले मेलाको मुख्य तीन दिनमा दैनिक डेढ लाखसम्मको कारोबार गरेको बुझिएको छ ।
मेला समितिले केही थिएटरलाई मुख्य मेला अवधिमा सञ्चालनमा रोकसमेत लगाएको थियो । मेला समितिका पदाधिकारीलाई रु तीन लाखसम्म नजराना नदिंदा दुई दिन थिएटर चल्न दिइएको थिएन । तर मेला समितिले यो आधारहीन कुरा भएको दाबी गरेको छ । थिएटरमा विवाद हुँदा भीडभाडको दिनमा आपराधिक गतिविधि नहोस् भनेर केही दिन सञ्चालनमा रोक लगाइएको मेला समितिका प्रवक्ता स्वर्णकारले जानकारी गराए ।