प्रस, वीरगंज, २७ मङ्सिर/

नेपाल पत्रकार महासङ्घ, पर्साको मङ्सिर २८ गते हुने चुनावमा उम्मेदवारी दर्ता गराएकामध्ये सातजनाले नाम फिर्ता लिएका छन्। 

नाम फिर्ता लिनेहरूमा सहसचिव शम्भुकुमार सुमन, केन्द्रीय पार्षद् श्रीराम रायमाझी, सदस्यहरू नीलम पन्त, शोभा धमला, शबनम भट्टराई, रञ्जीत चौरसिया र धर्मेन्द्र चौरसिया रहेको निर्वाचन अधिकृत शत्रुघ्न नेपालले बताए। 

नेपाल पत्रकार महासङ्घ, पर्सामा भोलि शुक्रवार १९ सदस्यीय जिल्ला कार्यसमिति, ११ सदस्यीय प्रदेश परिषद् र पाँच सदस्यीय राष्ट्रिय परिषद्का गरी कुल ३५ पदका लागि निर्वाचन हुँदैछ। ३५ पदका लागि ७८ जनाको उम्मेदवारी परे पनि आज सातजनाले उम्मेदवारी फिर्ता लिएपछि ७१ जनाको अन्तिम नामावली प्रकाशन भएको छ। 

१६७ जना सदस्य रहेको पर्सा शाखामा करीब ४३ प्रतिशत सदस्य निर्वाचनमा भाग लिएका छन्। यो निर्वाचनमा नेपाली काङ्ग्रेस र नेकपा एमालेसँग आबद्ध प्रेस युनियन र प्रेस चौतारीका सदस्यहरूको एउटा प्यानल र बाँकी सदस्यहरू अर्को प्यानल बनाइ प्रतिस्पर्धामा छन्। 

यस निर्वाचनमा दुईवटा प्यानल एकापसमा भिडे पनि दुवै प्यानलका उम्मेदवारहरू आफूप्रति ढुक्क छैनन्। आफ्नै प्यानलबाट धोका हुन सक्ने उम्मेदवारहरू बताउँछन्। नाम मात्रको प्यानल हो, यसपालिको निर्वाचनमा ठूलो धोका हुन सक्ने आशङ्का आफूलाई महसूस भइरहेको एकजना उम्मेदवारले प्रतीकलाई बताए।

पत्रकारहरूबीच एकापसमा द्वन्द्व रहेकोले एकै प्यानलबाट उम्मेदवार भएपनि प्यानलको मत विरोधी खेमाका उम्मेदवारलाई जान सक्ने उनले बताए। 

पत्रकारितामा आबद्ध नभएका व्यक्तिहरूलाई पत्रकार महासङ्घको सदस्यता दिएकाले पनि सदस्य खोज्न समस्या भएको ती उम्मेदवारले बताए। आआफ्नो प्यानलका मतदाताहरूलाई सुरक्षित राख्ने कोशिश भइरहे पनि प्रतिद्वन्द्वी प्यानललाई सूचना चुहाएर समीकरण भाड्ने मतदाताहरूसँग पनि सतर्क रहनुपरेको उनले बताए। 

मुख्य निर्वाचन अधिकृत नेपालका अनुसार महासङ्घ, पर्साको अध्यक्षमा अनुप तिवारी र ओमप्रकाश खनालको उम्मेदवारी परेको छ। यसैगरी, उपाध्यक्ष (खुलातर्फ)मा तीनजना अलि असगर देवान, भूषण यादव र जगत राईले उम्मेदवारी दर्ता गराएका छन् भने महिला उपाध्यक्षमा कविता खड्का र नीलिमा पौडेलले उम्मेदवारी दिएका छन्।

त्यसैगरी, सचिवमा शेखरबहादुर क्षत्री, मनोज पटेल, विजय चौहान र सफल खतिवडा गरी चारजनाले उम्मेदवारी दर्ता गराएका छन्। सहसचिव समावेशीमा अमित अग्रवाल, इरफान अली र एसके चौरसिया तथा खुलातर्फ अजयकुमार चौरसिया र उदयकुमार दास गरी पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। 

कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र, धनञ्जय मिश्र, अमितकुमार साह,  जियालालप्रसाद साह गरी चारजनाको उम्मेदवारी परेको छ। 

महिला, आदिवासी जनजाति र मधेसी सदस्यतर्फ क्रमशः दुई, तीन, तीन गरी आठजनाको उम्मेदवारी परेको छ। दलित सदस्यमा छेदीलाल (सुभाष) राम निर्विरोध निर्वाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here