प्रस, वीरगंज, २५ मङ्सिर/
सहकारीको रकम ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग मङ्गलवार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा बयान लिने कार्य सम्पन्न भएको छ ।
हिजो वीरगंज ल्याइएका लामिछानेलाई मङ्गलवार बिहान सवा नौ बजे जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पेश गरिएको थियो ।
जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाले बिहान सवा नौ बजेदेखि डेढ बजेसम्म लामिछानेसँग मौखिक छलफल गरिएको र अपराह्न ४ बजेसम्म लिखित बयान गराइएको बताए । उनले हिजो सोमवार यही विषयको मुद्दामा छविलाल जोशी र रामबहादुर खनालसँग बयान लिएको बताए । तीनैजनासँग हिजो र आज गरी दुई दिनमा बयान सकिएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले आज बयान सकिएको र भोलि लामिछानेलाई पर्साबाट पठाइने बताए । आजको लामिछानेले आफूमाथि लगाइएको सहकारी ठगीको विषयमा सोधिएका सबै प्रश्नको इन्कारी बयान दिएका थिए ।
यही मङ्सिर १९ गते जिल्ला प्रहरी कार्यालय, पर्साले पर्सा जिल्ला अदालतबाट लामिछानेलाई बयानका लागि पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो र अदालतले आदेश जारी गरेपछि उनलाई हिजो वीरगंज ल्याइएको हो । पोखराबाट सोमवार हवाईमार्गबाट काठमाडांै र त्यहाँबाट पनि हवाईमार्गबाटै सिमरा ल्याएर जिप्रकामा राखिएको थियो र हिजैदेखि सिमरा विमानस्थल र वीरगंजमा लामिछाने अध्यक्ष रहेका रास्वपाका कार्यकर्ता, समर्थकहरूले प्रदर्शन गर्दै आएका छन् । आज वीरगंजमा रास्वपाका कार्यकर्ताहरूले लामिछानेको रिहाइ माग गर्दै नगरमा प्रदर्शन गरे । प्रदर्शनपछि जिल्ला प्रहरी कार्यालय, पर्साको प्रवेशद्वार मुख्य सडकमा गरिएको कोणसभामा रास्वपाका सांसद हरि ढकालले सत्तासीन पार्टीका नेताहरूको इशारामा फसाउने षड्यन्त्र रचिएको आरोप लगाए । उनले अध्यक्ष लामिछानेविरुद्ध राज्यसत्ता लागिपरेको र यो षड्यन्त्रको रास्वपाले भण्डाफोर गरेर छाड्ने चेतावनी दिए ।
यता लामिछानेलाई बिहान बयानका लागि जिल्ला न्यायाधिवक्ताको कार्यालय लगिएदेखि बयान सकेर नल्याउन्जेलसम्म प्रहरीले पावरहाउस चोकदेखि पर्सा जिल्ला अदालत जाने सडक बन्द गरेको थियो । अदालतको अगाडिबाट दक्षिणतर्फ निस्कने गरी सवारीसाधनहरूलाई पठाइएको थियो । अदालती कामका लागि आएका व्यक्तिहरूलाई तारिख पर्चा, रिट, निवेदनलगायतका प्रमाणहरूका आधारमा बन्द गरिएको बाटोबाट पैदल जान दिइएको थियो ।
वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाबाट ग्यालेक्सी टेलिभिजनको नाममा ऋण प्रवाह भएको र सो टेलिभिजनसँग आबद्ध लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि हिजो उनलाई कास्कीबाट बयानका लागि वीरगंज ल्याइएको थियो ।