प्रस, परवानीपुर, २५ मङ्सिर/
घरेलु तथा साना उद्योग, पर्साले यहाँका सबै इँटा उद्योगलाई पुस मसान्तपछि माघमा मात्रै चिम्नी फायरिङ गर्न निर्देशन दिएको छ ।
मङ्सिर २० गते लिखित परिपत्र जारी गर्दै घरेलुले माथिल्लो निकायको परिपत्र कार्यार्थ कार्यान्वयनको लागि निर्देशन दिएको हो । पुसमा हुस्सु लाग्ने भएकोले चिम्नी बाल्दा प्रदूषण बढ्ने र इँटा उद्योगका कामदारलाई स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकोले प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले परम्परागत इँटा उद्योग अब उपरान्त नयाँ दर्ता नगर्ने, दर्ता भई सञ्चालनमा रहेका उद्योग पुस मसान्तपछि मात्रै फायरिङ गर्न २०८१ कात्तिक ३० गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको एवं यही मङ्सिर १८ गते मधेस प्रदेश सरकार मातहतको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले सङ्घीय उद्योग मन्त्रालयको आदेशलाई पालना गराउन घरेलु तथा साना उद्योग वीरगंजलाई परिपत्र गरकोले यस्तो निर्देशनसहितको परिपत्र इँटा उद्योगलाई जारी गरेको हो ।
मधेस प्रदेशका पर्सा, बारा, रौतहटका केही इँटा उद्योगले मङ्सिरमैं चिम्नी बालेकाले त्यसलाई रोक लगाउन साना तथा घरेलु उद्योग आग्रसर भएको हो । पर्साको बहुदरमाई नगरपालिका–७ बागेश्वरी चैनपुरस्थित सुपर इँटा उद्योगलाई मङ्सिर २० गते नै परिपत्र गरेपछि अहिले उद्योगमा पाँच दिन इँटा पोल्ने काम बन्द भएको थियो । बारा, पर्सा इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष ओमप्रकाश यादवका अनुसार सरकारी निर्देशनविपरीत इँटा पोल्ने काम शुरू गर्नु ठीक नभएको बताए । उनले सरकारी निर्देशनलाई पालना गर्न सबै इँटा उद्योगलाई अनुरोध गरे । त्यसैगरी, बाराको महागढीमाई नपा–४ दहिआरका महन्त जैसवाल सञ्चालक रहेको जगदम्बा इँटा उद्योगलाई इँटा उद्योगमा इँटा पोल्ने काम बन्द गर्न जिल्ला प्रशासन कार्यालय, बाराले निर्देशन दिएको सङ्घका अध्यक्ष यादवले जानकारी गराए । साथै बाराका जयलाल साह कलवार सञ्चालक रहेको बारागढी–२ बिसुनपुर्वाको नेपाल इँटा उद्योग, रवीन्द्र साह तेली सञ्चालक रहेको बारागढी–५ पाथराको सूर्य इँटा उद्योगले पनि फाइरिङ गरिसकेकाले फायरिङ बन्द गर्न दुई दिनको अल्टिमेटम प्रशासनले दिएको बारा, पर्सा इँटा व्यवसायी सङ्घले जनाएको छ ।
सुपर इँटा उद्योग गयो उच्च अदालत घरेलु तथा साना उद्योगले दिएको निर्देशनविरुद्ध पर्साको सुपर इँटा उद्योग उच्च अदालत गएको बुझिएको छ । उद्योगका सञ्चालक दीपेन्द्रप्रसाद यादवले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा उनले अन्तरिम आदेश माग गर्दै उत्प्रेषण प्रतिषेध आज रिट दर्ता गराएका हुन् ।
सरकारी निर्देशन, कानूनविपरीत नभएको भन्दै इँटा उद्योगले सरकारी निर्देशनको विरुद्धमा घरेलु तथा साना उद्योगसमेत सातजनालाई विपक्षी बनाइ रिट दर्ता गरेकोमा न्यायाधीश नीलम पौडेलेको एकल इजलासले पुस ३ गतेको सुनवाइ आदेश दिएको छ ।