प्रस, परवानीपुर, २५ मङ्सिर/
बाराको पञ्चवर्षीय गढीमाई मेलामा यसपटक होटल व्यवसायी मालामाल भएका छन् । एउटा पसलले करीब एक सातामा न्यूनतम डेढ लाखदेखि अधिकतम १० लाखसम्म मुनाफा गर्ने अनुमान गरिएको छ । एउटा सानो होटलले दैनिक रु ८० हजारदेखि डेढ लाखसम्मको बिक्री गरेको छ । मङ्सिर २० गतेदेखि मेलामा दर्शनार्थीहरूको भीड बढेको छ । मङ्सिर मसान्तसम्म होटल व्यवसाय चल्ने जनाइएको छ । गढीमाई मेलामा खानाको होटल सञ्चालन गर्ने पर्सा जिल्ला जानकी टोलाका सन्तोष पटेलका अनुसार आफ्नो होटलले करीब एक सातामा रु डेढ लाख मुनाफा गरेको बताए । ठूलठूला होटलहरूले एक साताभित्र पाँच लाखदेखि १० लाखसम्म मुनाफा गर्ने उनले दाबी गरे ।

गढीमाई मेलामा नास्ता र खानाको गरी साना/ठूला गरी झन्डै ५० वटा होटल सञ्चालन रहेका छन् । साना होटलले न्यूनतम रु दुई लाख र ठूला होटलले रु १० लाखसम्म लगानी गरी मेलामा अस्थायी व्यापार गर्न सफल भएको मेला समितिले जनाएको छ ।

पञ्चवर्षीय मेला भएकोले नेपाली र भारतीय व्यवसायीहरूले होटल व्यवसाय गरेका हुन् । मेलामा सादा खाना प्रतिप्लेट रु १५०, प्रतिअमलेट रु ५०, चिकेन खाजा रु २२०, चिकेन खाना रु २५०, मटन खाजा रु २८० र मटन खाना रु ३५०, माछा तारेको प्रतिथान रु ६०, दुईवटा माछासहितको खाना खान रु २५०, मदिरा पनि नियमित मूल्यभन्दा क्वाटरमा डेढ/दुई गुणासम्म थपेर बिक्री गरेको व्यवसायीहरू बताउँछन् ।

माग अत्यधिक तथा खाना र मदिराका पसल सीमित भएपछि बिक्री मूल्य बढेको हो । होटल व्यवसायमा माछामासुको होटल खूब चलेको मेला समितिले जनाएको छ । साथै मेलाको कारण गढीमाई आसपासका बजारमा समेत हरिया तरकारी, काँचो माछामासुसमेतको अभाव भएको थियो । मेलाको मुख्य अवधि अर्थात् मङ्सिर २१ देखि २५ गतेसम्म अत्यधिक माग भएकोले बरियारपुर, गंजभवानीपुर, कलैया बजारमा समेत माछामासुको अभाव सृजना हुँदा माछामासुको मूल्य आकाशिएको थियो ।

मङ्सिर २३ गतेपछि मेलाका होटल सञ्चालकहरूलाई माछामासु आपूर्ति गर्न हम्मेहम्मे परेको थियो । पसलेले कुखुराको मासु प्रतिकिलो रु छ सय, माछा प्रतिकिलो रु ५७०, खसीको मासु प्रतिकिलो रु १४ सयसम्ममा समेत स्थानीय बजारबाट खरीद गरी होटल सञ्चालन गरेको जनाएका छन् । कोही कोहीले वीरगंजबाट समेत माछामासु खरीद गरेर मेलामा आपूर्ति गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here