धर्मेन्द्र चौरसिया, पोखरिया, २४ मङ्सिर/
पर्सा जिल्लामा हरिया तरकारीखेती गर्ने किसानहरूको सङ्ख्या घट्दो छ । कृषि ज्ञान केन्द्र र पालिकाहरूबाट पाउने सेवा सहयोगहरूमा कमी र जङ्गली जनावर नीलगाईको प्रकोप र हरिया तरकारीखेतीबाट लगानी अनुसारको मुनाफा नभएपछि किसानहरूले हरिया तरकारीखेतीमा रुचि देखाउन छाडेकाले विगतको तुलनामा हरिया तरकारीखेती गर्ने किसानहरूको सङ्ख्या आधाको हाराहारीमा घटेको अनुमान गरिएको छ ।
पोखरिया नगरपालिका–९ का जिमदार दास विगतको तुलनामा अहिले आधा खेतमा हरिया तरकारीखेती गरेको बताउँछन् । उनले १० कट्ठा जग्गामा हरिया तरकारीखेती गर्दै आएका थिए । अहिले आधामा हरिया तरकारीखेती गरिरहेका छन् । दास जस्तै गुलजार दास, वासुदेव साह, चोकट चौहानले पनि विगतको तुलनामा आधामा खेती गरेको बताए । उनीहरूले काउली, गोलभेडा, घिरौला, लौका, भन्टा, मूला, सिमी, कोसा, बोडीलगायतका हरिया तरकारीखेती गर्दै आएको तर लगानी अनुसारको मुनाफा नभएको कारणले यसपटक गत वर्षको तुलनामा आधामा हरिया तरकारीखेती गरेको बताए ।
पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको भौराटार, विश्रामपुर, पोखरिया नपाको शिबर्वा, फुलवरिया, चिलझप्टी, जीराभवनी गापाको नवकाटोला, पर्सागढी नपाको बडनिहार, घोडपसरा, मनवा, र ठोरी गापामा पनि हरिया तरकारीखेती हुन्छ । हरिया तरकारीखेती हुनेमध्ये जङ्गल क्षेत्रसँग जोडिएका क्षेत्रमा नीलगाईले दुःख दिंदै आएको छ । यसका साथै कृषि ज्ञान केन्द्र, पालिकाहरूबाट दिइने सेवा र सुविधाहरूबाट किसान वञ्चित हुँदै गएपछि अहिले हरिया तरकारीखेती गर्ने किसानको सङ्ख्यामा ४० प्रतिशतले कमी आएको अनुमान गरिएको छ ।
पोखरिया नपाको कृषि शाखाका प्राविधिक राजेश साह किसानहरूलाई दिंइदै आएको तालीम, भ्रमणबाट हरिया तरकारीखेतीतर्फ आकर्षण पार्ने काम भएको तर अहिले सो कार्य बन्द भएकोले उनीहरूमा हरिया तरकारीखेतीबाट आकर्षण घटेको बताउँछन् । उनले कृषि ज्ञान केन्द्रबाट किसानहरूलाई बेलाबखत भ्रमण गराउने, तालिमहरू दिनुका साथै हरिया तरकारी खेति गर्न बीउबिजन, मलका साथै कृषियन्त्रहरूको पनि सहयोग गरिंदै आएको तर हाल पालिकास्तरमा सो सेवा सुविधाहरू किसानलाई उपलब्ध गराउने व्यवस्था भएको र पालिकाहरूले किसानका लागि काम नगरेकाले हरिया तरकारीखेतीतर्फ किसानहरूको आकर्षण घटिरहेको उनले बताए । उनले पालिकाहरूले हरिया तरकारीखेतीका लागि बजेट विनियोजन नगरेको र उनीहरूलाई सेवा सुविधाबाट वञ्चित पारिएकाले अहिले हरिया तरकारीखेती गर्ने किसानहरूको सङ्ख्या आधाको हाराहारीमा घटेको बताए ।
हरियो तरकारी गर्ने किसानहरूको सङ्ख्या घटेको र गत असोज ११ र १२ गतेको वर्षाले हरिया तरकारीखेती नष्ट भएको र त्यसपछि कीराहरूले हरिया तरकारीखेतलाई असर पारेको कारण उत्पादन घटेर अहिले हरिया तरकारीको माग पूरा हुन नसक्दा भाउँस्थिर भएर महङ्गो भएको प्राविधिक साह बताउँछन् । पर्सा जिल्ला सरह अन्यत्रका किसानहरू पनि सेवा सुविधाबाट वञ्चित भएका र लगानी अनुसारको प्रतिफल नपाएर हरिया तरकारीखेतीबाट अन्य खेतीतर्फ पलायन भएकाले हरिया तरकारीको उत्पादन घटेको र अहिले सिजनमा पनि हरिया तरकारी महँगो भएको उनको बुझाइ छ ।