नेपालका लाखौं युवाले विदेशमा श्रम बेच्न बाध्य हुने अवस्था दिन प्रतिदिन गहिरिंदै छ । वार्षिक झन्डै छ लाखभन्दा बढी नेपाली युवा रोजगारको खोजीमा विदेशिन्छन् । स्वदेशमैं उपयोग गर्न सकिने युवाश्रम, सीप र दक्षता विदेशिनुले देशभित्र रोजगारको अवसर खुम्चिनुका साथै कृषि क्षेत्रजस्तो सम्भावनायुक्त क्षेत्रमा अपेक्षित प्रगति हुन सकेको छैन । परिणामस्वरूप राष्ट्रलाई दीर्घकालीनरूपमा आर्थिक र खाद्य सुरक्षामा असर परिरहेको छ । नेपालबाट विदेशिने श्रमिकहरूले वार्षिकरूपमा १० खर्ब रुपैयाँभन्दा बढी विप्रेषण पठाउने गर्छन्, जसले राष्ट्रिय अर्थतन्त्रलाई केही राहत दिएको छ । तर यसको ठूलो हिस्सा खाद्यान्न, फलफूल, तरकारी र दूधजस्ता कृषि उपज आयात गर्नमैं खर्च भइरहेको छ । नेपालले वार्षिक झन्डै तीन खर्ब रुपैयाँ बराबरको कृषि उपज आयात गर्छ । जसमा चामल, गहुँ, दलहन, तेलहन, तरकारी र फलफूल मुख्यरूपमा छन् । देशभित्रकै जनशक्ति कृषि क्षेत्रमा परिचालन गर्न सके आयातमा निर्भरता कम हुनुका साथै रोजगार सिर्जना भएर विदेशिने क्रम घट्नेछ ।
नेपालजस्तो कृषिप्रधान देशका लागि कृषि क्षेत्र रोजगार सिर्जना र आयात प्रतिस्थापनको भरपर्दो माध्यम हो । यहाँको भूगोल, हावापानी र जलवायु कृषि उत्पादनका लागि उपयुक्त छ । तर देशको कुल भूमिमा २८ प्रतिशत जमीन मात्रै कृषि उत्पादनमा उपयोग भइरहेको छ, र त्यसमा पनि परम्परागत खेती प्रणालीको वर्चस्व छ । त्यसो त कृषि क्षेत्रमा नेपालभन्दा कम प्राकृतिक स्रोतसाधन भएका देशहरूले अत्याधुनिक प्रविधि र उत्पादनशील कृषिमा लगानी गरेर ठूलो प्रगति गरेका छन् । उदाहरणका लागि इजरायलजस्तो सानो मुलुकले न्यूनतम जमीन र सीमित जलस्रोतको उपयोग गरेर विश्वकै प्रमुख कृषि निर्यातकर्ता बन्न सफल भएको छ । जापान र नेदरल्यान्ड्सले पनि प्रविधिमैत्री कृषि अपनाएर स्वदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै निर्यातसमेत गरिरहेका छन् । नेपालमा पनि आधुनिक कृषि प्रणाली, प्रविधिको प्रयोग, सिंचाइ प्रणालीको विस्तार र कृषि व्यवसायमा निजी क्षेत्रको आकर्षण बढाउन सकिएमा यस्ता सफलता प्राप्त गर्न सकिन्छ । वैदेशिक रोजगारमा जाने युवाहरूलाई स्वदेशमैं कृषि व्यवसायमा आकर्षित गर्न दीर्घकालीन नीति आवश्यक छ । यसको लागि आधारभूत पूर्वाधार सुधार हुनुपर्छ । सिंचाइको सुविधा, पहुँचयोग्य बजार र यातायातको सुधारले कृषिलाई व्यावसायिक बनाउन मदत पुग्छ ।
त्यसैगरी, कृषि प्राविधिक शिक्षा, व्यावसायिक तालीम, र प्रविधिको हस्तान्तरणबाट कृषिमा दक्ष जनशक्ति तयार गर्न सकिन्छ । कृषिका लागि सहुलियतपूर्ण कर्जा र बीमा सुविधा सरकारले उपलब्ध गराउने हो भने युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ । यदि सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न सके, तल्लो तहदेखि माथिल्लो तहसम्म कृषि उत्पादन वृद्धि गर्न सके र स्वदेशी उत्पादनलाई प्रतिस्थापन गरेर निर्यातमुखी बनाउन सके भने नेपाललाई कृषि आत्मनिर्भर देशमा बदल्न सकिन्छ । यसले युवाशक्तिको विदेश पलायन रोक्ने मात्रै होइन, देशको आर्थिक सन्तुलन कायम गर्न पनि महŒवपूर्ण भूमिका खेल्नेछ । यसरी कृषि क्षेत्र नेपालको आर्थिक समृद्धि र रोजगारको प्रमुख आधार बन्न सक्ने अवस्था रहँदारहँदै पनि आखिर केले रोकेको छ ? अब खोज्ने बेला भएको छ । नेपालजस्तो कृषि सम्भावनायुक्त देशले खाद्यान्न आयातमा निर्भर रहनुको कारण के हो प्रश्न सोध्ने बेला भइसक्यो । सरकार, निजी क्षेत्र र युवाशक्तिले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न अब विलम्ब गर्नुहुन्न ।