प्रस, परवानीपुर, २३ मङ्सिर/
वीरगंजका ट्रान्सजेन्डर (तेस्रोलिङ्गी) हरू जथाभावी हार्मोन प्रयोग गर्ने गरेको पाइएको छ । आफू सुन्दर र महिलाजस्तै स्वरूपमा परिवर्तनका लागि उनीहरूले विभिन्न हार्मोन प्रयोग गर्दै आएका छन् । सहयात्री समाज नेपाल वीरगंजमा डेढ दशकदेखि आबद्ध ट्रान्सजेन्डर हुन्, सञ्जु महतो ।
वीरगंज–८ गहवा निवासी ३० वर्षीया सञ्जुले मासिक पाँच हजारको हार्मोन सेवन गर्ने गरेको बताइन् । अहिले वीरगंजमा खासगरी थाइल्यान्डबाट आयातीत तथा भारतको सीमावर्ती बजार रक्सौलबाट भिœयाइएको डायना चक्की बढीजसो उपयोग गरिरहेका छन् ।
वीरगंज र पर्सा जिल्लाका ग्रामीण भेगका तेस्रोलिङ्गीहरूले चिकित्सकको परामर्शविना नै यस्ता औषधिहरू सेवन गरिरहेको सञ्जु बताउँछिन् । अर्की तेस्रोलिङ्गी ममताले नीलोकन, ओभ्रेलजी, सुनौलो गुलाब र गर्भनिरोधक तीन महीने सुईसमेत लिने गरेको बताइन् ।
चिकित्सकीय परामर्श नलिएर यस्ता औषधिहरूको सेवनबाट स्वास्थ्यसम्बन्धी विभिन्न समस्याहरूको सामना गर्दै आएको उनी स्वीकार गर्छिन् । उनी थप्छिन्–चिकित्सकको सल्लाहमा कुन समस्याका लागि कस्तो औषधि सेवन गर्ने हो भने शायद अहिले आफूसमेत अन्यलाई समस्या हुने थिएन ।
तर आफूखुशी अरूले दिएको सल्लाहकै भरमा जथाभावी औषधिसेवन गर्नाले रक्तचाप, थाइराइड, मधुमेहलगायतका रोगहरूको सामना गर्नुपरेको बताइन् । अहिले थुप्रै तेस्रोलिङ्गीले यस प्रकारको रोगको सामना गरी नियमितरूपमा औषधिसेवन गरिरहेको ममता बताउँछिन् ।
२० वटा डायना चक्की रक्सौलबाट रु पाँच सयमा खरीद गरेर खाने गरेको र यसबाहेक सुन्दर बन्न ब्युटिपार्लरमा जाने र शृङ्गारिक सामान खरीदमा पनि ट्रान्सजेन्डरहरूको मासिक खर्च बढी हुने गरेको ममताले बताइन् । उनले नारायणी अस्पताल वीरगंजमा ट्रान्सजेन्डरहरूको लागि हार्मोनसम्बन्धी चिकित्सकीय सेवा निश्शुल्क गर्दा धेरैको उद्धार हुने बताइन् ।
हार्मोनले ट्रान्सजेन्डरहरूमा महिला हार्मोन उत्पादन गर्छ । यसले खासगरी तेस्रोलिङ्गीहरूको स्तन बढाउन, छाला कोमल र सुन्दर बनाउन, महिलाजस्तै बोली र आवाज बनाउन एवं हाउभाउ र स्वरूप पनि निखार्ने गरेकोले यसको प्रयोग बढ्दै गएको बताइएको छ ।