प्रस, वीरगंज, २३ मङ्सिर/
कानू हलुवाइ समाज नेपाल बाराले पञ्चवर्षीय गढीमाई मेलामा निश्शुल्क भोजन, बास र शौचालयको व्यवस्था गरेको छ ।
महागढी नगरपालिका–१ बरियारपुरस्थित मेलामा सहभागी स्वदेशी तथा विदेशी भक्तजनहरूलाई मेलामा असुविधा नहोस् भन्दै कानू समाजले यस अघिको मेलादेखि नै भोजन, बास र शौचालयको निश्शुल्क व्यवस्था गरी सेवा दिएको राजकुमार साह कानूले बताए । उनले मङ्सिर २० गतेदेखि २४सैं घण्टा भोजन, शौचालय र बासको सेवा प्रदान गर्दै आएको बताए । यो सेवा दैनिक एक हजार बढी मानिसले लिने गरेको कानूले जानकारी गराए ।
यसैगरी, नेपाल विद्यार्थी सङ्घ बाराले मेलामा निश्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मङ्सिर २० गतेदेखि नेविसङ्घ बाराको आयोजनामा निश्शुल्क स्वास्थ्य शिविर सञ्चालनमा रहेको कानूले बताएका छन् । उनले चिकित्सक, स्वास्थ्यकर्मीहरूबाट २४सैं घण्टा सेवा प्रदान गरिएको र दैनिक पाँच सयले लाभ लिइरहेको बताए । शिविरबाट आवश्यक औषधिहरू पनि निश्शुल्क उपलब्ध गराइएको उनले बताए ।