प्रस, वीरगंज, २३ मङ्सिर/
बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने ठूलो चुनौती रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन् ।
जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको आधिकारिक नेशनल चेम्बर अफ एग्रिकल्चरद्वारा ललितपुरमा आइतवार आयोजित एक दिने रोजगार परामर्श सेमिनारमा मन्त्री महर्जनले कृषि क्षेत्रमा आयात भइरहेकोले युवालाई कृषि उत्पादनमा जोड्न सीप दक्षता अभिवृद्धि गर्नुपर्ने बताए ।
उनले युवाहरूलाई विदेश पलायनबाट रोक्दै स्वदेशमैं श्रम, रोजगार गर्न तथा उद्यमी र व्यवसायी बनाउनुपर्ने बताए । उनले देशको आवश्यकता अनुसारको दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले युवालाई विभिन्न निकायबाट सीप सिकाउने काम भएपनि हालको तथ्याङ्कबाट प्रभावकारी देखिएको हुँदा तालीम र रोजगार सँगसँगै जोडिनुपर्ने बताए ।
मन्त्री महर्जनले बेरोजगारी समस्या सम्बोधन गर्न श्रम, व्यवसाय र रोजगार सिर्जना हुन सक्ने गरी बाग्मती प्रदेश सरकारले सार्थक श्रम नीति र युवामैत्री कार्यक्रम ल्याउन पहल गरिरहेको जानकारी गराए ।
सेमिनारले तय गरेको श्रम, रोजगार र कृषिमा नीतिगत सुझावका आधारमा रोजगारको व्यवस्थापन, सीप विकासका साथै कृषि क्षेत्रमा युवाको हित प्रवद्र्धन गर्न अगाडि बढ्ने सरकारको प्रतिबद्धता रहेको मन्त्री महर्जनले बताए । आर्थिक सक्षमता नभएसम्म नागरिक सफल हुन नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा डा अनोज शाक्यले नेपाल भौगोलिकरूपले विशिष्ट तथा प्राकृतिक स्रोत र साधन सम्पन्न मुलुक भएकोले कृषि विकासका लागि अथाह सम्भावना र पहिचान बोकेको कृषिप्रधान देश भएकोले नेपाललाई कृषि विकासले आत्मनिर्भरताको बाटोतिर अघि बढाउन सकिने बताए ।
डा शाक्यले नेपालबाट उचितरूपमा शिक्षित जनशक्ति जापान पठाउन आवश्यक रहेको बताए । उनले नेपालको कृषि क्षेत्रको भविष्यलाई अगाडि बढाउन यो जनशक्तिले ठूलो भूमिका खेल्ने भएकोले नेपाली युवा अस्थायी कामदारका रूपमा मात्र नभई जापान र नेपालबीचको दक्ष जनशक्ति आदानप्रदानले दुई देशबीच पुलको काम गर्ने बताए ।