नेपाल–भारत सम्बन्धको इतिहास हजारौं वर्ष पुरानो छ । यसको जगमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकता बलियोरूपमा जोडिएका छन् । विशेषगरी मिथिला क्षेत्रलाई केन्द्रबिन्दु बनाएर नेपाल र भारतबीचको सम्बन्धले धार्मिक र ऐतिहासिक महŒव राख्छ । सीता र रामको विवाहपञ्चमी यो सम्बन्धको एक प्रतीक हो । यसले नेपाल र भारतका जनतालाई धार्मिक, सांस्कृतिक र भावनात्मकरूपले घनिष्ठ सम्बन्धमा बाँधेको छ । सीता र रामको विवाह मिथिलाको जनकपुरधाममा भएको थियो, जुन आज पनि दुवै मुलुकका करोडौं जनताका धार्मिक आस्थाको साझा धरोहर हो । रामायणको कथा केवल धार्मिक ग्रन्थ मात्र होइन, यो नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धको ऐतिहासिक आधार तथा प्रमाण हो । रामको अयोध्या भारत र सीताको जनकपुर नेपाल दुई देशबीचको सांस्कृतिक पुल हो । जनस्तरको सम्बन्धलाई अटल, अमर बनाउन यसले ठूलो भूमिका निर्वाह गरिरहेको छ ।
हरेक वर्ष मनाउँदै आएको सीताराम विवाहपञ्चमी यस वर्ष पनि धूमधामका साथ सम्पन्न भयो । विवाहपञ्चमीको अवसरमा भारतका हजारौं भक्तजन जनकपुरधाम आउँछन् । जनकपुरमा हुने सीताराम विवाह महोत्सव नेपाल–भारतबीचको धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानको उत्कृष्ट उदाहरण हो । यस पर्वले दुई देशका जनताबीचको आपसी विश्वास र प्रेमलाई अझ प्रगाढ बनाउने काम गरेको छ । धार्मिक आस्थासँगै नेपाल र भारतबीचको सम्बन्ध पारिवारिकस्तरसम्म जोडिएको छ । तराई–मधेस क्षेत्रमा विशेषगरी दुवै देशका परिवारबीच बिहेवारी, जन्ती–पिरती र अन्य सामाजिक सम्बन्धले पारिवारिक सञ्जाललाई बलियो बनाएको छ । अधिकांश नेपाली र भारतीयबीचको सांस्कृतिक, भाषिक र सामाजिक जीवनशैली यति समान छ कि सीमाको भौगोलिक रेखा केवल कागजी मात्रै देखिन्छ । सीता–रामको विवाहपञ्चमी नेपाली र भारतीय जनताको साझा पहिचान पनि हो । यस पर्वले “समान संस्कृति र परम्पराका हामी सन्तान” भन्ने भावनालाई निरन्तरता दिएको छ । नेपाल–भारतबीच राजनीतिक र कूटनीतिक सम्बन्धमा कहिलेकाहीं उतारचढाव आए पनि दुई देशका जनस्तरका सम्बन्धलाई कुनै प्रभाव पार्न सकेको छैन । सीमापारको व्यापार, सांस्कृतिक आदानप्रदान र धार्मिक यात्राहरूले नेपाल–भारत सम्बन्धलाई बलियो बनाइरहेको छ । नेपालमा रहेका विभिन्न हिन्दू तीर्थस्थलहरूजस्तै जनकपुरधाम, पशुपतिनाथ, मुक्तिनाथ, गढीमाईजस्ता स्थान भारतीय तीर्थालुहरूको प्रमुख गन्तव्य हुन् । त्यस्तै, भारतका अयोध्या, काशी, केदारनाथ, तिरुपति, वैष्णोदेवीलगायतका तीर्थस्थल नेपालीहरूको धार्मिक यात्राका प्राथमिकतामा पर्छन् ।
सीताराम विवाहपञ्चमी धार्मिक उत्सव, नेपाल र भारतबीचको साझा सम्पदाहरूको एकीकृत उत्सव हो । यस पर्वले हाम्रा ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक एकता तथा आपसी सहकार्यलाई अझ बलियो एवं जीवन्त बनाएको छ । यस्तो महोत्सवले दुवै देशका सरकारलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्न थप प्रेरणा दिने गरेको छ । यस सन्दर्भमा जनकपुरधामलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्र बनाउन सकिन्छ । यसो हुन सकियो भने समग्र नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । यसको लागि सङ्घ सरकार, प्रदेश सरकार र स्थानीय पालिकासमेत लागिपर्नुपर्छ । विवाहपञ्चमीमा मात्रै एकीकृत हुने होइन, दबाबकारी भूमिकाका लागि पनि जनसहभागिता महŒवपूर्ण छ ।