प्रस, वीरगंज, २२ मङ्सिर/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले युवापुस्तामा नकारात्मकता सोच हाबी हुँदै गएको र उनीहरूले आफ्नो सबै खाले जायज नजायव कुण्ठालाई सामाजिक सञ्जालमार्फत पोख्ने कार्य गरिरहेको बताएका छन् ।
सानो पाइला संस्थाको शनिवार वीरगंजमा आयोजित १८औं स्थापना दिवस तथा छैटौं साधरणसभामा नगरप्रमुख सिंहले युवाहरूमा देखिएका यस्ता खाले प्रवृत्तिले समाजलाई सही बाटोमा नलग्ने ठोकुवा गरे । उनले राजनीतिक नेतृत्वको स्वस्थ आलोचना युवाहरूबाट हुनु उपयुक्त भएपनि स्वार्थसिद्धिका लागि गरिने टीका–टिप्पणी, गालीगलौजको अवस्था राम्रो नभएको बताए । उनले सामाजिक सञ्जालमार्फत अरूलाई अर्ती उपदेश दिन सजिलो भएको तर आफूमा लागु गर्न भने गा¥हो हुने भन्दै सकारात्मक सुझावहरू सीधा उपलब्ध गराएको खण्डमा सोको समाधानतर्फ पहल हुने विश्वास व्यक्त गरे । उनले सामाजिक सञ्जालमा गालीगलौज गरेर वीरगंज समृद्ध नहुने तर्क गरे । आफूमा भएका कमीकमजोरीलाई सच्याउन तयार रहेको दाबीसहित उनले सकारात्मक सल्लाह, सुझाव पस्किन आग्रह गरे । उनले वैभव वीरगंज बनाउने आफ्नो अभियानमा युवालगायत महानगरका सबैको साथ र सहयोग अपरिहार्य हुने बताए ।
नगरप्रमुख सिंहले सानो पाइलाले लामो समयदेखि वीरगंजमा सामाजिक कार्य गर्दै आएको र अहिले परिपक्व भइसकेको बताए । उनले युवा पुस्ताबाट सञ्चालित संस्थाले आगामी दिनमा अझ प्रगति गरोस् भनी शुभकामना पनि दिए ।
सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले सानो पाइलाले स्थापनाकालदेखि लागूऔषधविरुद्ध अभियानका साथै सामाजिक कार्य गर्दै आएको बताए । उनले २३ वर्षको उमेरदेखि आफूले संस्था सञ्चालन गरेको बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष गणेश लाठले समाजमा रहेका विकृतिहरूविरुद्ध सानो पाइलाले बेलाबखतमा गर्दै आएको कार्यलाई निरन्तरता दिन सुझाए । उनले शुरूका दिनमा आर्थिक समस्याबाट जुधेर पनि सानो पाइलाले अहिलेसम्मको यात्रा पूरा गरेको बताए ।
सानो पाइलाका अध्यक्ष सुदीप लामाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपाल, सखुवाप्रसौनी गापाध्यक्ष यशवन्त यादव, सखुवाप्रसौनी गापाकी उपाध्यक्ष ममता महतो, नेकपा एकीकृत समाजवादीका बालगोपाल थापा, डा सुषमा तिवारी, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, ज्ञानदा एकेडेमीका राजेन्द्र कोइराला, वीरगंज युवा समाजका कमल चौगाईलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सूर्यनारायण विकले गरेका थिए ।