प्रस, वीरगंज, २१ मङ्सिर/
स्टक ब्रोकर एशोसिएशन अफ नेपालको नयाँ कार्यसमितिका लागि शुक्रवार सम्पन्न निर्वाचनमा अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी राजकुमार तिमिल्सिनालाई दुई मत अन्तरले पराजित गर्दै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी, उपाध्यक्ष नितेशकुमार अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल, सचिव विनय रेग्मी र सदस्यहरूमा जयन्त श्रीवास्तव, विशाल अग्रवाल, प्रियांशु अग्रवाल र जेलिना कँडेल विजयी भएका छन् ।

निर्वाचित अध्यक्ष ढकालले पूँजी बजारमा अत्यावश्यक वित्तीय औजार तथा कारोबार औजारहरू मार्जिन ट्रेडिङ, इन्ट्रा डे तथा सर्ट सेलिङ एवं इक्विटी डेरिभेटिभ आदिको विकासका लागि पहल गर्ने, लगानी व्यवस्थापन सेवाका लागि एडभाइजरी सेवा, मार्जिन लेन्डिङ सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको सेवा प्रदान गर्ने वातावरण सृजना गर्ने बताए ।

उनले धितोपत्र दलाल व्यवसायी कम्पनीले नेपाल स्टक एक्सचेन्जसमक्ष बैंक ग्यारेन्टी राखी सोको २५ प्रतिशत गुणासम्म कारोबार सीमा प्राप्त गरिरहेकामा त्यस्तो सीमालाई ५० गुणासम्म बनाउन पहल गर्ने, रु २० करोड पूँजी भएका धितोपत्र ब्रोकर्सले मार्जिन लेन्डिङ तथा लगानी व्यवस्थापन सेवा प्रदान गने सम्बन्धी नियमावलीमा आवश्यक संशोधनका लागि पहल गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here