नितेश कर्ण, जनकपुर, २१ मङ्सिर/
त्रेतायुगमा मिथिला नरेश राजा जनककी सुपुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव जनकपुरधाममा भव्यरूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती जनकपुरधाम आउने परम्परा छ ।

सो अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लथ बैंक धनुषा नेपालले संयुक्तरूपमा निश्शुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरमा बिहीवारसम्म अढाई हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएको संस्थाका अध्यक्ष डा राजीव झाले बताए । नेपाल–भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट लाखौंको सङ्ख्यामा भक्तजनहरू रामजानकीको विवाह हेर्न आउने गरेका छन् ।

शिविर बिहान ७ देखि बेलुकी ७ बजेसम्म सञ्चालन गरिएको र त्यसपछि यात्री विश्रामस्थलमा परिवर्तन गर्दै आएको छ । शिविरमा डा अजय मिश्र, डा उदय झा, सिअहेब दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादवलगायतका स्वास्थ्यकर्मीहरूले निश्शुल्क सेवा प्रदान गरिरहेका छन् ।
जसपा नेता एवं प्रदेशसभा सदस्य मनीष सुमन, जिसस प्रमुख रामनन्दन मण्डलले संस्थाको प्रयासको प्रशंसा गर्दै समाजसेवाको यो पहललाई प्रेरणादायी बताए ।

शिविरमा नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, धनेश्वर ठाकुर, मनीष ठाकुर, कृष्णकुमार साह र क्लथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनीष श्रीओम, कार्यक्रम संयोजक रञ्जीत झा, खुश्बु साह, नन्दकुमार झालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here