प्रस, वीरगंज, २० मङ्सिर/
वीरगंज महानगरपालिका–१० अशोकवाटिकास्थित श्मशानघाटको पुनर्निर्माण कार्य भइरहेको छ । महानगरपालिकाले पुरानो संरचना भत्काएर श्रीसिया नदीसँगको भागमा एकपटकमा पाँचवटा शव जलाउन सकिने गरी नयाँ संरचना बनाउन लागेको हो । नगरप्रमुख राजेशमान सिंहले अहिले काम जारी रहेको र पटकपटक बजेट विनियोजन गरेर काम भइरहेकाले यकीन खर्च अनुमान गर्न नसकिने बताए । उनले श्मशानघाटलाई आधुनिकीकरण गर्ने महानगरको प्रयास हो र निकट भविष्यमा विद्युतीय शवगृह पनि जडान हुने बताए । उनले महानगरपालिकाले दाउराबाट जलाउने संरचना निर्माण गरिएको स्थलदेखि उत्तरतर्फ विद्युतीय शवगृह निर्माण हुने बताए । महानगरले भवन निर्माण गर्ने र मधेस प्रदेश सरकारले त्यसमा विद्युतीय संरचना जडान गर्ने उनले जानकारी गराए । उनले यस अघि सो स्थानमा महानगरले विद्युतीय शवगृहका लागि बनाएको भवनमा किरियापुत्रीहरूलाई बस्ने व्यवस्था गरिने बताए ।
तर मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माले आफ्नो पालामा विद्युतीय शवगृहका लागि दुई करोड बजेट विनियोजन भएको तर स्थानीयहरूको विरोधका कारण विद्युतीय संरचना जडान हुन नसकेको बताए । उनले तत्कालीन नगरप्रमुख विजयकुमार सरावगीले महानगरको ५० लाख लगानीमा विद्युतीय शवगृह भवन निर्माण गरिदिएको तर त्यसमा विद्युतीय संरचना जडानमा स्थानीयले अवरोध गरेकाले स्थगित भएको बताए ।
अशोकवाटिकास्थित श्मशानघाट पूर्वनगरप्रमुख माधवलाल श्रेष्ठको पालामा सार्वजनिक जग्गामा निर्माण गरिएको हो । त्यसपछि पूर्वसांसदहरू ओमप्रकाश शर्मा, विमल केडिया र श्याम टिबडेवालले पुरानो संरचनामा परिवर्तन गर्दै श्मशानघाटलाई थप व्यवस्थित पारेका थिए । त्यस्तै, श्मशानघाटलाई आधुनिकीकरण गर्दै त्यहाँ बगैंचा आदिको निर्माणमा राजकुमार दारुकाले विशेष योगदान पु¥याएका थिए ।
पूर्वनगरप्रमुख श्रेष्ठको पालादेखि अहिलेसम्म श्मशानघाटको संरचना फेरिने क्रमसँगै प्रवेशद्वार पनि फेरिंदै आएको छ । अहिले महानगरपालिकाले पुरानो संरचना परिवर्तन गरेर आधुनिकीकरण गर्दासम्म चारवटा प्रवेशद्वार भइसकेका छन् । तीनवटा अहिले पनि सञ्चालनमा छन् भने एउटालाई अहिले महानगरले पर्खाल बनाएर बन्द गरिदिएको छ । अहिलेको संरचनाले श्रीसिया नदीलाई पूर्णरूपमा जोडिदिएको छ । त्यसपछि श्मशानघाट फैलिने सम्भावना छैन । ऐलानी जग्गा व्यक्तिविशेषको हकअधिकारमा नपरोस् भनेर पूर्वनगरप्रमुख श्रेष्ठले शुरू गरेको यो अभियानमा श्मशानघाटले श्रीसिया नदीसम्मको क्षेत्र ओगटेर फराकिलो भएको छ ।
वीरगंजमा अशोकवाटिकापछि ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको पहलमा दाताहरूले रु २० लाखको लागतमा वीरगंज महानगरपालिका–१८ हाल सवारी चालक अनुमतिका लागि लिइने ड्राइभिङ सेन्टरनजीक शवगृह निर्माण गरी सञ्चालनमा छ । ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानले सो स्थानमा निर्मित शवगृहमा महानगरपालिकाका सबै वडाबाट हुने अन्तिम संस्कारको विधि पूरा हुने क्षमतावान् भएको बताए । उनले अहिले दाहसंस्कारको लागि शवगृह निर्माण गरिएको र पछि आवश्यकता अनुसार थप व्यवस्थापन गरिने बताए ।