प्रस, वीरगंज, १९ मङ्सिर/
बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित स्वास्थ्यकर्मीहरूको आवास भवन जीर्ण र काम नलाग्ने अवस्थामा पुगेको छ । स्वास्थ्यकर्मीका लागि बनाइएको सो आवासीय भवन बनेको ५५ वर्ष पुगिसकेको छ ।

२०२६ सालमा बनेको आवासीय भवन मर्मतसम्भारको अभावमा अहिले बस्नै नसकिने अवस्थामा पुगेको छ ।

पुरानो स्वास्थ्य चौकी र हालको बर्थिङ सेन्टरमा कार्यरत एकजना कार्यालय सहयोगीसहित तीनजना स्वास्थ्यकर्मी बस्दै आएका छन् । बर्थिङ सेन्टर रहेको भवन ठीकठाक भएपनि आवासीय भवन भने जीर्ण भइसक्दा पनि नगरपालिकाले मर्मतसम्भार र पुनर्निर्माणका लागि गतिलो प्रयास गरेको छैन ।

चौकी प्रमुख प्रमोदप्रसाद कुर्मीले आवासीय भवन जीर्ण भएको र जुनसुकै बखत ढल्न सक्ने अवस्थामा रहेको बताए । छतको प्लास्टर झरिरहेको छ, वर्षामा छत चुहिएर बसिनसक्नु हुन्छ, मर्मतसम्भार वा पुनर्निर्माणका लागि पालिकालाई भन्दाभन्दा थाकिसकेको बताए । स्वास्थ्यकर्मी बिनुकुमारी सहनीले अरूको उपचार गर्दै आएकामा कुनै दिन आफ्नै उपचार गराउनुपर्ने अवस्था आउन सक्ने बताइन् ।

उनले जीर्ण आवासमा बस्नुपर्दा राति निद्रा पनि नलाग्ने बताइन् । सबै कोठाका छतका प्लास्टर भत्किरहेका छन्, साढे पाँच दशक अघि निर्मित आवासीय भवन मर्मत सम्भार पनि गरिएको छैन, नयाँ निर्माण गर्ने कुरा परै जाओस् ।

बहुदरमाई नपाले भवन निर्माण हुने जग्गा नम्बरी हुनैपर्ने सरकारले निर्णय गरेको तर बर्थिङ सेन्टर र आवासीय भवन ऐलानी जग्गामा भएकाले समस्या भएको बताएको छ । पालिकाले नम्बरी जग्गा यकीन गरी सोही स्थानमा पक्की भवन निर्माणको लागि प्रयासरत रहेको जानकारी गराएको छ ।

विगतमा बर्थिङ सेन्टरबाट मासिक पाँचजना महिला सुत्केरी हुने गरेकामा चालू आवको कात्तिक मसान्तसम्म २१ जना महिला सुत्केरी भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here