प्रस, वीरगंज, १९ मङ्सिर/
भोजपुरी प्रतिष्ठान वीरगंजको कार्यसमिति बुधवार पुनर्गठन भएको छ । वीरगंज महानगरपालिका–८ वडा कार्यालयमा बुधवार अनीता साहको अध्यक्षतामा भोजपुरी प्रतिष्ठान, वीरगंज सात सदस्यीय समिति पुनगर्ठन भएको हो । समितिका सदस्यहरूमा आमोदप्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनिया, अमित अग्रवाल र अजय चौरसिया रहेका छन् ।
भोजपुरी प्रतिष्ठान वीरगंजका संस्थापक अध्यक्ष एवं साहित्यकार उमाशङ्कर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधि निष्क्रिय भएको थियो ।
वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णको अध्यक्षता भएको आजको भेलामा भोजपुरी प्रतिष्ठान वीरगंज पुनर्गठन गरिएको थियो ।
नगरप्रमुख राजेशमान सिंहले पुनर्गठित समितिका अध्यक्ष, सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा नगरप्रमुख सिंहले भोजपुरी भाषा, संस्कृति र साहित्यलाई उजागर गर्ने, जनजनमा पु¥याउने तथा विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यमा प्रतिष्ठानको ठूलो भूमिका रहने विश्वास व्यक्त गरे ।
उनले भोजपुरी भाषाको उन्नयन र संरक्षणमा प्रतिष्ठानमा विभिन्न विधामा आबद्ध भएका कार्यसमितिका सदस्यहरूले इमानदारीपूर्वक भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
नगरप्रमुख सिंहले वीरगंजका विद्यालयहरूमा हप्तामा एक दिन भोजपुरी भाषा साहित्य, संस्कृतिबारेमा कक्षा सञ्चालन गर्ने योजनामा रहेको बताए । उनले भोजपुरी भाषा, संस्कृति झल्काउने सङ्ग्रहालय स्थापना गरिने पनि बताए । उनले भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तर्राष्ट्रियस्तरमा बोलिने भाषा भएको चर्चा गर्दै यसको उत्थान तथा विकासका लागि युवाहरूको आकर्षण बढाउनुपर्ने आवश्यकता औंल्याए ।