प्रस, परवानीपुर, १८ मङ्सिर/
प्रत्येक वर्ष १ डिसेम्बरका दिन विश्व एड्स दिवस मनाइन्छ । अस्ति आइतवार नेपालका विभिन्न शहरसँगै आर्थिक नगरी वीरगंजमा विभिन्न सङ्घसंस्थाहरूले ३७औं विश्व एड्स दिवस मनाए । स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा यो दिवस मनाउने क्रममा क्वेयर समुदायसँग परिवार नियोजनका अस्थायी साधन कन्डमको चरम अभाव रहेको कुरा बाहिरिएको छ । क्वेयर समुदाय भन्नाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई जनाउँछ ।
एचआइभी सङ्क्रमणबाट बच्नका लागि कन्डम प्रयोगमा जोड दिनुपर्ने स्वास्थ्य संस्थाहरूले जनचेतना जगाउने अभियान नै जारी राखेका छन् । तर राज्यले कन्डम आपूर्तिमा ध्यान नदिंदा सरोकारवालाहरूलाई समस्या भइरहेको देखिन्छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको क्षेत्र काम गर्ने वीरगंजको सहयात्री समाज नेपाल, पर्साका संयोजक सुरज लिम्बूले संस्थाबाट मात्रै दैनिक करीब डेढ हजार थान कन्डमको माग हुने गरेको बताएका छन् । उनले आपूर्ति अभावले अहिलेसम्म सो माग पूरा नभएको गुनासो गरे । उनले अहिलेसम्म दैनिक एक हजार कन्डम प्राप्त भएको र यसले माग धान्नै गा¥हो भइरहेको बताए । उनले क्वेयर समुदायमध्ये पर्साका ग्रामीण क्षेत्रमा बढी माग रहेको बताए । कहिलेकाहीं क्वेयर समुदायले बोरा भरेर कन्डम लैजाने गरेको लिम्बूले बताए ।
गाउँघरमा हुने बिहेवारीलगायतका कार्यक्रममा तेस्रोलिङ्गी सहभागी हुने सात सहेलियाको नाँच पर्सामा प्रख्यात रहेको र यस्तो कार्यक्रमका लागि उनीहरूबाट कन्डमको माग बढी हुने गरेको लिम्बू बताउँछन् । सहयात्री समाजले कन्डम निश्शुल्क उपलब्ध गराउने हुँदा क्वेयर समुदायबाहेक आवश्यक पर्नेहरूले पनि लैजाने गरेको लिम्बूले बताए । उनले यसबारेमा सरोकारवाला निकायमा कन्डमको सहज उपलब्धताका लागि आग्रह गरिएको तर अहिलेसम्म प्राप्त नभएको बताए । निश्शुल्क पाइने कन्डमको अभावसँगै बजारमा खरीद हुने कन्डमको पनि अभाव भएको पाइएको छ । घण्टाघरका एकजना औषधिपसलेले कन्डमको अभाव रहेको बताए । उनले विदेशी कन्डमको माग आफ्नो पसलमा बढी हुने गरेको र हाल कन्डमको अभाव भएको बताए ।
क्वेयर समुदायका सय बढी यौनकर्मी
सहयात्री समाजमा आबद्ध क्वेयर समुदायका सयजनाभन्दा बढी यौनकर्मी वीरगंजमा मात्र सक्रिय छन् । अन्य पेशामा उनीहरूले रोजगार नपाउने गरेकाले उनीहरूको मुख्य पेशा नै यौनकर्म हो । अन्य पेशामा यो समुदायलाई अत्यधिक विभेद, हेला, अपहेलना गरिने हुँदा रोजगारबाट वञ्चित रहँदा पेट पाल्नका लागि उनीहरूसँग यौनकार्यमा संलग्न हुनुको विकल्प नभएको सहयात्री समाजका लिम्बू बताउँछन । शहरी र ग्रामीण क्षेत्रमा यौनकर्मीहरूको बढ्दो सङ्ख्याले कन्डमको माग बढेर अभाव भएको उनको बुझाइ छ ।
१,४४३ जना एचआइभी सङ्क्रमित
सहयात्री समाज वीरगंजमा करीब पाँच सयजना क्वेयर समुदायका व्यक्तिहरू खुलेर आबद्ध छन् भने केही नखुलेरसमेत ग्रामीण भेगमा बस्छन् । पाँच सयमध्ये ५० जना एचआइभी सङ्क्रमित रहेका छन् । असुरक्षित यौन सम्पर्कका कारण उनीहरू एचआइभीको सङ्क्रमणमा परेका हुन् । नारायणी अस्पतालका डा उदयनारायण सिंहले प्रत्येक महीना एचआइभी सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुने गरेको बताए । उनले सुरक्षित यौन सम्पर्कका लागि कन्डमको प्रयोग अति आवश्यक रहेको बताए । पर्सा, बारा, रौतहट, सर्लाहीलगायतका जिल्लाबाट एचआइभी सङ्क्रमितहरू उपचारका लागि नारायणी अस्पतालमा आउने गरेको बताए ।
स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले नारायणी अस्पताल वीरगंजमा एक हजार ४४३ जना एचआइभी सङक्रमितले एआरटी सेवा लिएको बताए । तीमध्ये ५३ जना बालबालिका रहेको उनले बताए । सुईद्वारा लागूऔषध प्रयोगकर्ता, यौनकर्मी र वैदेशिक रोजगारमा गएर घर फर्केकाहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा एचआइभी सङ्क्रमण फेला पर्ने उनले बताए । उनले एचआइभी नियन्त्रणका लागि सबैभन्दा सरल माध्यम कन्डम भएको बताए । पछिल्ला समयमा कन्डमको प्रयोगविना यौनकर्मीहरू पनि तयार नहुने गरेकाले पनि पर्सा जिल्लामा कन्डमको माग बढेको देखिन्छ । यसका साथै अहिले पर्सा जिल्लामा विभिन्न जिल्लाहरूबाट यौनकर्मीहरू आएका र त्यसमा क्वेयर समुदायको सङ्ख्या बढी रहेको स्रोतले जनाएको छ । यिनीहरूको सम्पर्कको माध्यम सामाजिक सञ्जाल हुने गरेको बताइन्छ । क्वेयर समुदाय र यौनकर्मीहरूले अहिले सामाजिक सञ्जालमा छुट्टै समूह बनाएर ग्राहकसँग सम्पर्क स्थापित गर्दै आएका छन् ।
विद्यार्थी जागरण मञ्चका कार्यक्रम संयोजक नीरज साहले वार्षिक ६० हजारको हाराहारीमा कन्डम आवश्यक हुने र सोअनुरूपको कन्डम स्वास्थ्य कार्यालय, पर्साले उपलब्ध गराउँदै आएको बताए ।