प्रस, परवानीपुर, १७ मङ्सिर/
उपराष्ट्रपति रामसहाय यादवले सोमवार बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा विशेष पूजा गरेका छन् । मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला शुरू भएको हो ।
आज गढीमाई मन्दिरमा शुक्लपक्षको दिन मुख्य पूजा गरिने परम्परा रहेको र यसपटक उपराष्ट्रपति यादवबाट गढीमाई मेलाको विशेष पूजा गराइएको थियो ।
उपराष्ट्रपति यादव हेलिकप्टरबाट मन्दिर परिसरमा आएका र सोमवार बिहान साढे १० बजे विश्वप्रसिद्ध गढीमाई मेलामा विशेष पूजा गरेर मूल पुजारीबाट टीका ग्रहण गरेका थिए ।
आजदेखि गढीमाई मेलामा मुख्य पूजा हुने भनेर हिजैदेखि सो क्षेत्रमा भक्तजनहरूको भीड बढेको थियो । मेलामा देशी–विदेशी धार्मिक पर्यटकहरूको भीड बढ्न शुरू भएको छ । गढीमाई मेलामा नेपाल र भारतका विभिन्न स्थानहरूबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आउँछन् ।
पशुबलिका लागि विश्वप्रसिद्ध यस मेलामा राँगाको बलि मङ्सिर २३ गते आइतवार र बोकालगायत पशुपक्षीहरूको बलि मङ्सिर २४ गते सोमवार तोकिएको छ । राँगाको बलि व्यवस्थित भएपनि बोकालगायत पशुपक्षीको बलि व्यवस्थित हुने गरेको छैन । लाखौंको सङ्ख्यामा बोकाको बलि दिइने हुँदा गढीमाई मन्दिरको चार किल्ला निर्धारण गरेर बोकालगायत पशुपक्षीको चार किल्लाभित्र जहींकहीं बलि दिने गरिएको छ ।