प्रस, निजगढ, १७ मङ्सिर/
बकैया खोलाबाट अवैधरूपमा ढुङ्गा निकाली निजगढ नगरपालिका–४ कछडियाबस्ती आसपास थुपारिएको दुई करोडभन्दा बढी मूल्यको सात हजार ट्याक्टरभन्दा बढी ढुङ्गा जफत हुने भएको छ ।
जिल्ला समन्वय समिति, बाराका प्रमुख नरेन्द्रकुमार साहको संयोजकत्वमा मङ्सिर १३ गते बिहीवार बसेको बैठकले अवैधरूपमा भण्डारण गरिएको ढुङ्गा, बोल्डरलगायतका नदीजन्य पदार्थको परिमाण यकीन गरी नियमानुसार ठेक्का लगाउन निजगढ नगरपालिकालाई जिसस, बाराले आइतवार निर्देशनात्मक पत्राचार गरेको हो ।
अवैधरूपमा थुपारिएका ढुङ्गाको तिहारअघि निजगढ नगरपालिकाले प्राविधिक टोली खटाइ नापजाँच गरी तथ्याङ्क लिएको थियो । तथ्याङ्क लिएको एक महीना बितिसक्दा पनि ढुङ्गालाई कानूनी दायरामा ल्याउन निजगढ नगरप्रमुख सुरथ पुुरी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले आलटाल गर्दै आइरहेका थिए । ठूलो परिमाणको सो ढुङ्गालाई नदीजन्य पदार्थ सकार गर्ने ठेकेदार कम्पनी जय गणेश सप्लायर्स, बाराको कुुल ठेक्का परिमाण एक करोड तीन लाख ७६ हजार ७३० घन फिटबाट घटाइ मिलान हुनेगरी निकासी गर्न दिने नगरप्रमुख पुुरी र प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको कानूनी मापदण्डविपरीतको योजना थियो ।
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को बुदा नं ७ मा उत्खनन वा सङ्कलनको परिमाण नियन्त्रणको दफा नं (५) मा गाउँपालिका वा नगरपालिकाले ठेक्का अन्तर्गत आर्थिक वर्षको अन्त्यमा नदी किनारा तथा वन क्षेत्रमा भण्डारण गरी राखिएको नदीजन्य पदार्थ जफत गरी लिलाम बिक्री गर्ने व्यवस्था स्थानीय पालिकालाई दिएको छ । तर नदीजन्य पदार्थ ढुङ्गालाई कानूनी मापदण्डभित्र ल्याइ राजस्व सङ्कलन गर्न निजगढ नपाले आलटाल गरिरहेको देखिन्छ ।
नदीजन्य पदार्थको जथाभावी उत्खनन, सङ्कलन, बिक्री वितरण कार्य अविलम्ब रोकिनुपर्ने स्थानीयवासीको माग छ ।
यही मङ्सिर ७ गते शुक्रवार जिसस प्रमुख साह, प्रमुुख जिल्ला अधिकारी वसन्त अधिकारी, डिभिजनल वन अधिकृत राजीवकुमार झा, प्रहरी उपरीक्षक महेन्द्र खड्का, सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुुर सिंह, समन्वय अधिकारी आमेद चौधरीलगायतको संयुक्त टोलीले अवैधरूपमा ढुङ्गा थुपारिएको स्थान र क्रसर उद्योगको अनुगमन गरेपछि जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले ढुङ्गा जफत गर्ने निर्णय गरेको हो ।
नदीजन्य पदार्थको अनुगमन गर्दा मापदण्डविपरीत देखिए वा अवैध ठहरिए सोही अनुगमन टोलीले प्रायः अनुगमन गरेकै दिन वा सोको भोलिपल्ट बैठक बसी कानूनसम्मत ठोस निर्णय लिई सम्बन्धित पालिकाहरूलाई निर्देशनात्मक पत्राचार गर्ने गरेको थियो । अवैधरूपमा थुपारिएको सो ढुङ्गा करीब साढे तीन हजार घनमिटरभन्दा बढी रहेको बुझिन आएको छ ।
अवैधरूपमा थुपारिएको ढुङ्गा जफत हुने कुरा बाहिरिएसँगै निजगढ नपा–४ कछडियाटोलका स्थानीयहरू प्रतीक संवाददाता जीतलाल श्रेष्ठको घरमा सोमवार बिहान आएका थिए । उनीहरू सो कुरा बुझ्नका लागि नपाको कार्यालयमा पनि पुगेका थिए ।