प्रस, रौतहट, १७ मङ्सिर/
रौतहट जिल्लाका तीन पालिकामा सम्पन्न उपनिर्वाचनमा नेपाली काङ्ग्रेस दुई स्थान र नेकपा (एकीकृत समाजवादी)ले एक स्थानमा विजय हासिल गरेका छन् ।

ईशनाथ नगरपालिका–७ बाट नेका उम्मेदवार शेख अब्दुल खलिल, राजपुर नगरपालिका–६ बाट नेकाकै समसे आलम विजयी भएका छन् । यसैगरी, गढीमाई नगरपालिका–८ बाट नेकपा (एस)का बजरङ्गीप्रसाद यादव विजयी भएका छन् ।

ईशनाथ नपामा नेका उम्मेदवार खलिलले ६२७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेख अनवरले ५७५ मत प्राप्त गरे ।

यसैगरी, राजपुर नगरपालिका–६ बाट नेका उम्मेदवार आलमले ७४४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका जिकरुल्लाहले ४६३ मत प्राप्त गरेका थिए । त्यस्तै, गढीमाई नपा–८ बाट नेकपा (एस)का उम्मेदवार यादवले ६५५ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी जिउतीदेवी यादवले ६३१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, रौतहटका प्रमुख छोटेलाल दासले बताए ।

यस अघि २०७९ सालको निर्वाचनमा गढीमाई नगरपालिका–८ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामज्ञाराय यादव निर्वाचित भएका थिए तर उनको मृत्युपछि सो पद रिक्त भएको थियो । यसैगरी, राजपुर नगरपालिका–६ मा नेकाका उम्मेदवार शेख मोजरे आलम निर्वाचित भएका थिए । उनको पनि हृदयघातबाट मृत्यु भएको थियो भने ईशनाथ नगरपालिका–७ मा नेकपा एमालेका उम्मेदवार शेख खलिउल्लाह भन्ने दशै मियाँ निर्वाचित भएका थिए तर उनको पनि एक वर्षको कार्यकाल पूरा गरी रोगले निधन भएपछि वडाध्यक्षको पद रिक्त भएको थियो । सोही रिक्त पदका लागि हिजो उपनिर्वाचन भएको र आज बिहान सोको नतीजा आएको हो । उपनिर्वाचनबाट एमाले र जसपा नेपाललाई यहाँ घाटा भएको छ भने नेका र नेकपा (एस)को एक/एक सिट बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here