प्रस, वीरगंज, १४ मङ्सिर/
सबडिभिजन वन कार्यालय, पर्सामा कार्यरत कर्मचारीहरूको दोहोरो नीतिका कारण अहिले पर्सामा वनविनाश तीव्ररूपमा भइरहेको जनप्रतिनिधिहरूले आरोप लगाएका छन् ।
स्थानीय जनप्रतिनिधिहरूले दिएको जानकारी अनुसार कर्मचारीहरूको मिलेमतोमा वन फँडानी बढेको छ । कर्मचारीहरूले कम परिमाणको काठ पक्राउ गरी समाचारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गराउने गरेको तर वास्तविकतामा रातिपख दैनिकरूपमा सालको रूख कटान गरी खुलेआम तस्करी गराउने काम भइरहेको जनप्रतिनिधिहरूले आरोप लगाए ।
पर्साको राष्ट्रिय वन क्षेत्र वरिपरि ठूलो सङ्ख्यामा वैध र अवैध काठ चिरान मिल र फर्निचर उद्योगहरू सञ्चालनमा छन् । यी चिरान मिल र फर्निचर उद्योगहरूलाई डिभिजन वन कार्यालय, पर्सा र साझेदारी वन उपभोक्ता समितिले काठ बिक्री गरिएको पनि देखिंदैन । तर पनि चिरान मिल र फर्निचर उद्योगहरू पुराना काठ खरीदका बिलका आधारमा नयाँ काठहरू बिक्री गर्ने र छापामारी हुँदा पुराना बिल देखाएर मिलापत्रमा उम्कने गर्दै आएका छन् ।
डिभिजन वन कार्यालय, पर्सा र मातहतका सबडिभिजन वन कार्यालयहरूले आआफ्नो क्षेत्रका चिरान मिल र फर्निचर उद्योगहरूमा निगरानी बढाउने हो भने थुप्रै चिरान मिल र फर्निचर उद्योग बन्द हुने थिए । जनप्रतिनिधिले वन कर्मचारी र तस्करको मिलेमतोमा वन फँडानी हुने गरेको आरोप यस आधारमा पनि लगाएका हुन् । उनीहरूले वन फँडानी र काठ चोरी–तस्करीका बारेमा वनकर्मीहरूलाई दिने गरेको सूचना तस्करसित चुहाउने र सोबापत आर्थिक लाभ लिने गरेको आरोप लगाए । पर्साका जङ्गल क्ष्Fेत्रसँग जोडिएका बडनिहार, गुलरिया, बसवरिया, मनवा, टाँडी, हरपुर, सखुवनियालगायतका स्थानहरूबाट ठूलो परिमाणमा काठ तस्करी हुने गरेको छ ।
राष्ट्रिय वनका रूखहरू कटानी गरी सो क्षेत्र खाली गर्ने र यो खाली क्षेत्र अतिक्रमण गर्ने कार्य पनि सुनियोजितरूपमा भइरहेको छ । प्रदेश सरकारले काठ चोरी–शिकारी तथा वन अतिक्रमणविरुद्ध वार्षिक बजेट विनियोजन गरी पठाउने गरेको तर उद्देश्यपरक काममा सो बजेट खर्च नहुने गरेको आरोप छ । नक्कली बिल भरपाईबाट बजेट स्वाहा हुने गरेको कर्मचारी स्रोतको आरोप छ ।
मोटो रकम लिएर मुद्दा फेरिंदै
डिभिजन वन कार्यालय र सबडिभिजन वनका कर्मचारीहरू अहिले काठ चोरी–तस्करीका घटनामा आफैं बोक्सी आफैं झाँक्री बनिरहेका छन् । सबडिभिजन वन कार्यालय, बडनिहारको टोलीले पर्सागढी नगरपालिका–३ जोकर खोला हँुदै काठसहितको ना.३त ३२२७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो । ट्याक्टरसँगै वीरगंज महानगरपालिका–२९ निवासी चालक अनिल चौधरीलाई पक्राउ गरेको थियो । सो ट्याक्टरमा झ्याल–ढोकाका सेट १७ थान थियो ।
गत शुक्रवार रातिको यो घटनामा अहिले ट्याक्टर र चालकलाई कारबाहीविना छाड्ने तयारी भइरहेको एकजना कर्मचारीले बताए । ट्याक्टर सबडिभिजन वन कार्यालय, बढनिहारमा र चालक डिभिजन वन कार्यालय, पर्साको नियन्त्रणमा छ । ठूलो परिमाणमा काठ बरामद भएकोले यसको मुद्दा पर्सा जिल्ला अदालतमा चलाउनुपर्नेमा साधारण टिप्पणी उठाएर सवारीसाधन र चालकलाई छाड्ने तयारी भइरहेको ती कर्मचारी बताउँछन् ।
यस विषयमा कार्यालय प्रमुख मन्जुर अहमदसँग बुझ्दा यस्तो नहुनुपर्ने बताए । उनले १७ थान काठका झ्याल–ढोका बरामदबारेमा अनभिज्ञता जाहेर गरे ।