प्रस, ठोरी, १५ मङ्सिर/
ठोरीमा आराध्यदेव पशुपतिनाथको शनिवार प्राण–प्रतिष्ठा गरिएको छ । मङ्सिर १३ गते ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले वैदिक विधि अनुसार पशुपतिनाथको प्राण–प्रतिष्ठाको पूर्वाङ्ग गरेका थिए । ठोरी गापा–१ भगवाननगरको सिङ्गेडाँडा कैलाश पर्वतमा १३ गतेदेखि शुरू गरिएको प्राण–प्रतिष्ठाको विधि आज शतबीज छर्दै पूर्णाहुतिी गरिएको प्राण–प्रतिष्ठाका यज्ञ आचार्य चिरञ्जीवी सापकोटाले बताए ।
कार्यक्रममा गापाध्यक्ष श्रेष्ठले पशुपतिनाथको मन्दिर ठोरीमा स्थापना गरेर बाह्य तथा आन्तरिक पर्यटनलाई भिœयाउनमा मदत पुग्ने बताए । पशुपतिनाथ मन्दिर निर्माणले यस क्षेत्रको विकासमा आमूल परिवर्तन हुने उनले विश्वास व्यक्त गरे ।
पशुपतिनाथको स्थापनाले विकासको दृष्टिकोणबाट पिछडिएको यस क्षेत्रमा सबैको ध्यान जाने र आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरू पशुपतिनाथको दर्शनार्थ आउने क्रम बढ्दै जाने उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले बताइन् ।
ठोरीलाई धार्मिक नगरी बनाउन पशुपतिनाथको स्थापनाले थप टेवा पुगेको वडाध्यक्ष अमृतकृष्ण सापकोटाले बताए ।
मङ्सिर १३ गते बिहीवार प्राण–प्रतिष्ठामा ठोरीवासीको उत्साहपूर्ण सहभागिता थियो भने उक्त दिन ठोरी गापा वडा नं १ र २ मा सार्वजनिक बिदा दिइएको थियो ।