चौतारीमा जमघट थियो । मानिसहरू आउनेक्रम रोकिएको थिएन । धनवीरले केही क्षण सुस्ताइ पुनः नजर चारैतर्फ डुलाए । खोजेको वस्तु प्राप्त नभएझैं झोक्रिएर वरको रूखमा अडेसिएर बसे ।
उनको अगाडि उभिएर बोल्ने हिम्मत बस्तीका कसैमा पनि नभएकाले सबै चुपचाप थिए । निकै समयपछि मने आइपुग्यो । उनका आँखा आकर्षित भए । मनेको काँधमा झोला थियो र आज्ञानुसार धनवीरको अगाडि राख्यो ।
माल्यार्पण कार्यक्रमको सुरुआत धनवीरबाटै भयो । एक मिनेट मौनधारण गर्नुपर्छ, आज्ञापालन गर्दै फ्रेममा, सजिएका तस्वीरहरूमा क्रमशः महिला, वृद्ध, अछूत सबैको तर्फबाट फूलका गुच्छा चढे । “शहीदलाई चिनेका छौं, देशको अस्मिता, स्वाभिमान र सुरक्षामा आफूलाई उत्सर्ग गर्न हाँसीहाँसी बलवेदीमा चढ्ने अनि आफू र आफ्नो परिवारभन्दा माथि उठेर देशको मुहार फेर्न फाँसीको माला घाँटीमा लगाउने व्यक्तित्वहरू नै शहीद हुन् । ती लश्करै राखिएका तस्वीरहरू उहाँहरूकै हो ।” धनवीरले उत्साहित भएर सुनाए । उनको मुहार प्रसन्न देखिन्थ्यो । धेरै समयपछि भूषणलाई तस्वीरको एक फोटो चिनेझैं लाग्यो । ऊ त्यतै एकोरियो । तर बोलेन । मात्र गम्यो र टाउको हल्लाउँदै एक क्षण सोच्यो ।
“आज शहीद दिवस, जानकारी दिन तिमीहरूलाई बोलाएको,” धनवीरले पुनः मुख फोरे । साँझ घर फर्कंदा भूषण आफ्ना एक हुल साथीहरूलाई बताउँदै थियो । “आज चौतारोमा राखिएका पाँचवटा तस्वीरमा तेस्रो लहरको तस्वीर गिने खत्रीको छोराको हो । देशमा प्रजातन्त्र ल्याउन विद्यार्थी आन्दोलनमा लागेबापत धनवीरको उक्साहटमा यातना शिविरमा उसको हत्याएको भएको थियो ।