• शीतल महतो

सरकारी निकायको उदासीनताका कारण स्वदेशी उद्योग–व्यवसाय बिस्तारै धराशयी बन्दै गएको छ । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरणसमेत खस्कँदो अवस्थामा छ । रोजगार सिर्जना, लगानी आकर्षण र पूँजी सिर्जना गर्ने औद्योगिक क्षेत्रको योगदान अर्थतन्त्रमा औसतमा पाँच प्रतिशतमा सीमित रहेको छ । औद्योगिक क्षेत्र खुम्चिंदा उद्योग–व्यवसायमा सङ्कट आउने र यसले रोजगारसमेत गुम्न सक्ने तथा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन थालेको छ । बढ्दो बेरोजगारका कारण उपभोक्ताको खर्च गर्न सक्ने क्षमतामा ¥हास आएर वस्तुको माग घट्न थालेको छ । यस्तो अवस्थामा मुलुकले लामो अवधिको लागि लिएका विकाससम्बन्धी योजनाहरूमा नकारात्मक प्रभाव पर्न जान्छ र उत्पादनशील उमेर समूहका लाखौं युवायुवती मुलुकमा गुमेको अवसरका कारण विदेशिने क्रम बढ्दै जान्छ । फलस्वरूप नेपाली अर्थतन्त्रको मुख्य आधार विप्रेषण र पर्यटन बन्न पुगेको छ । पछिल्लो समय नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य आयस्रोत नै विप्रेषण हो भन्ने कुरामा शायदै कसैको विमति होला ।

केही दिन अघि मात्र विप्रेषण भिœयाउने मुलुकमा नेपाल पहिलो बनेको समाचार पढ्दा सरकार र यहाँ राजनीतिक नेतृत्वले खुशी मनाएको देखिन्छ भने यहाँका अर्थविज्ञहरूले यसमा खुशी मनाउने कुनै कारण नभएको प्रतिक्रिया दिएका छन् । विप्रेषण धेरै भित्रिनु भनेको मुलुकको आन्तरिक अर्थव्यवस्था कमजोर हुनु हो भन्ने बुझिन्छ । आपूm जन्मे–हुर्केको मुलुकमा कामको अवसर नपाएपछि जोखिमपूर्ण र निम्नस्तरको कामका लागि विदेश जानुपर्ने बाध्यता रहेको मुलुकमा अर्थतन्त्रको मुख्य आधार विप्रेषण बन्नु पक्कै पनि खुशीको कुरा होइन । गत असोजमा नेपालमा हालसम्मकै सबैभन्दा बढी विप्रेषण भित्रिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत असोजमा एक खर्ब ४४ अर्ब २० करोड रुपियाँ विप्रेषण भित्रिएको छ । मासिकरूपमा नेपाल आएको विप्रेषणको तथ्याङ्कमा यो नै हालसम्मको उच्च परिमाण हो । यस अघि २०८० असोजमा एक खर्ब ३७ अर्ब विप्रेषण भित्रिएको थियो । अमेरिकी डलरको भाउ वृद्धि, वैदेशिक रोजगारका लागि विदेशिने नेपालीको सङ्ख्या वृद्धि र विश्व अर्थतन्त्र सुधारोन्मुख रहेकोले नेपालीको आम्दानी बढेको कारण
विप्रेषणमा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महीनामा विप्रेषणमार्फत चार खर्ब ७ अर्ब ३१ करोड रुपियाँ मुलुकमा भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो ।

आन्तरिक उत्पादन तथा रोजगारका अवसर वृद्धि हुन नसक्दा दैनिक श्रमशक्ति विदेशिने क्रम बढ्दो क्रममा रहेको छ । यस अवधिमा वैदेशिक रोजगारका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९,९३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,१३,३९७ र ४९,२९७ रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १७ महीनायता हरेक महीना एक खर्बभन्दा बढी विप्रेषण भित्रिंदै आएको छ । स्वदेशमा रोजगारको अवसर नभएका कारण नेपालीहरू काम गरेर कमाउनका लागि विदेशमा जान बाध्य हुनुपरेको र ज्यान जोखिममा राखेर भएपनि श्रम गर्न बाध्य भएको कुरा सरकार वा सरकारको नेतृत्व गर्नेले आत्मसात् गर्नुपर्ने हो तर त्यसो भएको पाइन्न । वैदेशिक रोजगारमा जानेहरूका साथै उच्च शिक्षाको लागि युरोप, अमेरिका र अस्ट्रेलियालगायत मुलुक जाने नेपालीको कमी छैन । शुरूशुरूमा विद्यावारिधि गर्न विदेश जाने गरेको पाइन्थ्यो भने, पछि स्नातकोत्तर गर्न पनि जान थाले । हाल स्नातक गर्न पनि विदेश जान हतारिने नेपाली विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको पाइन्छ । तर विदेशमा पढाइ सकेर स्वदेश फर्कने सोच उनीहरूमा देखिन्न्न । किनभने विदेशमा सिकेको ज्ञान र सीपको सदुपयोग गर्ने अवसर नेपालमा छैन । विशेषगरी उच्च माध्यमिक तहसम्म मात्र नेपालमा पढ्ने र त्यसपछि विदेशतिर हानिएर उतै पढ्ने अनि उतै काम गर्ने प्रवृत्ति बढ्दै गएको पाइन्छ ।

यता मुलुकमा विप्रेषण आप्रवाहमा वृद्धि भएसँगै शोधनान्तर स्थिति तथा विदेशी मुद्रा सञ्चितिजस्ता अर्थतन्त्रका बाह्य परिसूचकहरूमा सकारात्मक प्रभाव पर्नु स्वाभाविक हो । यसका साथै कतिपय आन्तरिक परिसूचकहरूमा समेत अप्रत्यक्ष प्रभाव परेको देखिन्छ । बजारमा तरलता सहज हुनु, घट्दो मुद्रास्फीति तथा ब्याजदरमा समेत यसको भूमिका देखिन्छ । निर्यात तथा आयातमा आएको सङ्कुचनले घटेको व्यापार घाटाको अवस्थालाई उपलब्धि मान्न मिल्दैन । यता सरकार भने यसैलाई आप्mनो उपलब्धि भनी व्याख्या गरिरहेको छ । मुलुकमा अहिले औद्योगिक गतिविधिमा सुस्तता, व्यापार–व्यवसायमा गिरावट तथा लगानीमा आएको सङ्कुचनले अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । विप्रेषण बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ भने शोधनान्तर बचत र चालू खाता बचत पनि थुप्रिंदै गएको तथ्यFङ्क छ । विदेशी मुद्राका अन्य स्रोतहरू निर्यात, पर्यटन, विदेशी लगानी, वैदेशिक सहायतालगायत सूचकको अवस्था निराशाजनक छ ।

यसरी विप्रेषणमा आएको वृद्धिले अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर बढिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बढ्दो विनिमय सञ्चितिले सरकार र निजी क्षेत्रलाई लगानी बढाउन राम्रो अवसर दिएकोले त्यसको भरपूर उपयोग गर्नुपर्छ । मुलुकको विदेशी विनिमय सञ्चिति गत असोजसम्म २२ खर्ब ३२ अर्ब रुपियाँ नाघेको छ । गत असार महीनाको तुलनामा यो ९.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै, गत असोजमा मुलुकको शोधनान्तर स्थिति एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोडले बचतमा थियो । यसैगरी, गत असोजसम्म चालू खाता एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५९ अर्ब ६५ करोडले बचतमा थियो । गत असोजसम्म प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) चार अर्ब ८१ करोड रहेको छ । गत वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) तीन अर्ब ३८ करोड थियो ।

मुलुकमा कृषि उत्पादनमा कमी भइरहेको छ । तर गोठालो बन्न नेपाली युवाहरूलाई इजरायल जानुपर्छ भन्ने भाष्य स्थापित हुन थालेको छ । यहाँ खेतबारी बाँझै छन् तर नेपालमा नाइजेरियाको मकै रु १७० प्रतिकिलो किन्ने बाध्यता छ । विगत एक वर्षमा ७० करोड रुपियाँको कोदो आयात हुनु नेपालका लागि ज्यादै दुःखद कुरा हो । कोदो मात्र होइन, मकैलगायत प्रायः सबै खाद्यान्न विदेशबाट आयात भइरहेका छन् । मलका लागि समेत यहाँ राजनीति हुने गरेको अवस्था छ । वास्तवमा अर्थतन्त्रमा सुधार ल्याउनका लागि आन्तरिक उत्पादनमा वृद्धि गर्नैपर्छ । आन्तरिक उत्पादन भनेको आप्mनै मुलुकभित्र वस्तु उत्पादन गरेर आत्मनिर्भर हुनु हो । स्वदेशमा खपत हुन नसकेको उत्पादन निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नु पनि हो । आन्तरिक उत्पादनले स्वदेशी उत्पादनसँग मात्र सरोकार राखेको हुँदैन, यसले निर्यात हुने वस्तुसँग पनि सरोकार राखेको हुन्छ । आन्तरिक उत्पादन भन्नाले औद्योगिक उत्पादन मात्र होइन । यस अन्तर्गत व्यापार, व्यवसाय र सेवा क्षेत्र पनि समावेश हुन्छ । किनभने यी क्षेत्रले पनि स्वदेशी उत्पादनमा योगदान पु¥याएर देशको आर्थिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । त्यसैले स्वाधीन अर्थतन्त्रको विकास गर्नु भनेकै आन्तरिक उत्पादन हो । आन्तरिक उत्पादन बढाउन सकियो भने आयात स्वतः कम हुन्छ । न्यून आयात र पर्याप्त निर्यात हुने गर्दा आर्थिकरूपले मुलुक बलियो हुन्छ । यसरी आन्तरिक उत्पादन बढाउन सकेको अवस्थामा विदेशी मुद्राको सञ्चिति पनि सकारात्मक हुन जान्छ । मुलुकभित्र उद्यमशीलताको विकास गरी विभिन्न उद्योग–व्यवसाय स्थापना एवं सञ्चालन विना उत्पादन बढाउन सकिंदैन । उत्पादन नबढाइ आम्दानी हुने कुरै भएन । आम्दानी नबढाई देशमा समृद्धि सम्भव छैन । आद्यौगिक क्षेत्रको विकास तथा उत्पादनमा वृद्धि नगरी आर्थिक समृद्धि सम्भव देखिंदैन । त्यसैले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन एवं आयात विस्थापन र रोजगार सृजना गर्ने खालका परियोजनामा लगानी बढाउनुपर्ने रणनीति सरकारको हुनुपर्छ ।

राष्ट्रिय बजेटको हाराहारी स्वदेश भित्रिने विप्रेषणको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकियो भने देशको अर्थतन्त्रको स्वरूप नै परिवर्तन हुन सक्छ तर यसरी प्राप्त हुने रकमलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न सकिएको छैन । करीब ७० प्रतिशत उपभोगमा र ३० प्रतिशत मात्र उत्पादनशील क्षेत्रमा लगानी भएको तथ्याङ्क छ । श्रम निर्यात गरेर कुनै पनि मुलुक धनी बन्न सक्दैन । मुलुकको आर्थिक विकास र समृद्धिका लागि वस्तु निर्यात गर्न सक्नुपर्छ । निर्यातका लागि देशभित्र आन्तरिक उत्पादन बढाउनुपर्छ । आन्तरिक उत्पादनले देशको आवश्यकता पूर्ति गर्नुका साथै वस्तु निर्यात गरेर मुलुकको अर्थतन्त्र सबल, सक्षम र सुदृढ बन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here