शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रतिफल आंशिकरूपमा तत्काल प्राप्त भए पनि वास्तविक लाभ दीर्घकालमा प्राप्त हुन्छ । सामान्य ठानिएका र ससाना विषयले पनि व्यक्तित्व विकासमा प्रभावकारी भूमिका खेल्ने भएकोले शिक्षालाई संवेदनशील विषय मानिन्छ । विद्यालयबाट प्राप्त हुने शिक्षा तत्कालीन समाजको आवश्यकता पूर्ति गर्नेभन्दा आगामी दिनका चुनौतीको सामना गर्ने दिशातर्फ लक्षित हुने गर्दछ । वर्तमान समयका स्रोत र साधनका आधारमा भविष्यका लागि आवश्यक पर्ने योग्य जनशक्ति तयार गर्नु वास्तवमैं चुनौतीपूर्ण कार्य हो । यसैले प्रशस्त अध्ययन, अनुसन्धान र अल्पकालीन अनि दीर्घकालीन प्रभावको समग्र विश्लेषण गरेर मात्र शिक्षा क्षेत्रमा आवश्यक परिवर्तन र परिमार्जन गरिन्छ ।
नेपालको माध्यमिक तहको शिक्षा भने विश्व व्यवस्थाले स्वीकार गरेका शिक्षाका आधारभूत सिद्धान्तभन्दा पूर्णरूपमा विपरीत गतिमा चलेको छ । सरकार र व्यक्ति विशेषका लहडमा शिक्षा क्षेत्रलाई चलाउने परिपाटीले बालबालिकाको भविष्य अन्योलमा पर्ने गरेको छ भने शिक्षा क्षेत्र अस्थिरता र अनिश्चितताको भुमरीमा रुमलिएको छ ।
विदेशी दाताहरूको निर्देशनमा, पूर्वाधार निर्माण तथा आवश्यक अध्ययन विश्लेषणविना विसं. २०७२ मा विद्यालय तहमा अक्षराङ्कन पद्धति लागू गरियो । सतहीरूपमा र विना अध्ययन हतारमा कार्यविधि जारी गरिएको कुरा चार महीनामैं भएको संशोधनले प्रमाणित गरेको थियो । २०७१ सालमा प्राविधिक धारको एसएलसीमा लागू गरिएको अक्षराङ्कन ६ ग्रेडमा वर्गीकृत थियो भने सैद्धान्तिक आधारमा यसलाई ९ वर्गमा राखियो । एसएलसी परीक्षालाई फलामे ढोकाका रूपमा चित्रण गर्ने तथा उत्तीर्ण हुने विद्यार्थीको दर न्यून भएकाले सबै विद्यार्थीलाई पास गराउने उद्देश्यले मात्र अक्षराङ्कन विधि आत्मसात् गरिएको देखियो । फलतः यसको नकारात्मक प्रभावस्वरूप विद्यार्थीले मिहिनेत नगर्ने तथा विद्यालयले पनि आधारभूत सीप आर्जन नगरेका विद्यार्थीलाई माथिल्लो कक्षा चढाउने गरे ।
विषयवस्तु कत्ति पनि नजानेको विद्यार्थी पनि, कुनै न कुनै रूपमा योग्य हुन्छ भन्ने मान्यता तथाकथित शिक्षाविद्ले राखेकै कारण, पास हुने मान्यता स्थापित भयो तर विद्यार्थीलाई अल्छी बनाएको र समग्र शिक्षाको स्तर खस्कन थालेको महसूस गरी २०७८ साल पुस महीनामा विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति खारेज गरी लेटर ग्रेडिङ निर्देशिका २०७८ जारी गरियो । यस निर्देशिकाले २०७२ मा लागू अक्षराङ्कन पद्धति ठीक थिएन भन्ने कुरा स्पष्ट मात्र पारेन, यसबीच लागू गरिएका अन्य क्रियाकलाप पनि नेपाली शिक्षा क्षेत्रका लागि घातक थिए भन्ने प्रमाणित गरेको छ । अब के हामीले प्राचीन गुरुकुलीय शिक्षा पद्धतिको महŒवबारे घोत्लिने बेला भएन र !
वैदिककालदेखि आर्य सनातनी हिन्दूहरूको मन्दिर वरपर, पाटी, सत्तल, धर्मशाला र पिंढी, पटाहामा शिक्षा प्रदान गर्ने परम्परा थियो । वैदिक कालदेखि नै गुरुकुल परम्परामार्फत ज्ञानको उत्पादन हुन्थ्यो । गुरुकुल परम्परा वैदिककालमा ऋषिमुनिहरूले स्थापना गरेका थिए । प्राचीन शिक्षा प्रणाली अनुसार शिष्यहरू गुरुको सान्निध्यमा रही ज्ञान आर्जन गर्ने व्यवस्थामा आत्मानुभूति र परलोक प्राप्त गर्नु शिक्षाको उद्देश्य मानिन्थ्यो ।
त्यस बेला शिक्षा हासिल गर्ने बालबालिकाहरू उपनयन संस्कारपछि गुरुकुल गई ब्रह्मचर्यमा रही शास्त्रीय अध्ययन गर्दथे । अध्ययनपछि सम्मार्जन संस्कार सकेर घरमा आएर गृहस्थाश्रम प्रवेश गर्दथे । गुरुकुल व्यवस्थाका लागि राजा र जनताबाट प्राप्त स्वेच्छिक दानको आधारमा आवास र भोजनको प्रबन्ध हुन्थ्यो ।
आधुनिक सभ्यताका पछिल्ला प्रामाणिक अभिलेखमा आधारित मानव शास्त्रानुसार ई.पू. करीब १५०० वर्ष अघिको सिन्धु घाटी मोहन जोदाडो सभ्यता सर्वप्राचीन मानिन्छ । यही अवधिमा दक्षिण–पश्चिम एशिया अफगानिस्तानदेखि पूर्व म्यान्मासम्म र यही भेगको उत्तर हिमालय पर्वतमालादेखि दक्षिण हिन्द महासागर तटसम्मको विशाल क्षेत्र प्राचीन गुरुकुल शिक्षाको उद्गम तथा उर्वरभूमिमा पर्छ । यसको केन्द्रविन्दु विश्व गौरव बौद्धदर्शन उद्बोधनस्थल नेपालस्थित आर्य–अनार्यजनको पवित्र नगरी जनकपुरधाम रहेको बताइन्छ । तत्कालीन मिथिला राज्य शिक्षा विकासका दृष्टिले महŒवपूर्ण देखिन्छ । सातौं शताब्दीमा वर्तमान जनकपुर विदेह राज्यको केन्द्र थियो । तत्कालीन जनक राजाको समयमा शैक्षिक क्रियाकलापमा योगदान देखिन्छ ।
तीनताक बौद्धिक छलफल, लेखन कलाको विकास र शैक्षिक जागरण पनि बढ्दै गरेको पाइन्छ । त्यसैबेला उपनिषद्, बाह्य साहित्य, दर्शन तथा वेदाङ्गादिका साथै बौद्धिक ग्रन्थ ऋग्वेदका सूत्रहरूको व्यवस्था अध्ययन गर्ने चलन बसिसकेको थियो । आयुर्वेदको समेत राम्रो पठनपाठन प्रारम्भ भइसकेको थियो । जोतिषशास्त्रको विकाससँगै ग्रह–नक्षत्र, शुभ–अशुभ आदिको विचार गर्ने प्रचलन त्यति नै बेला शुरू भएको थियो । शिल्प शास्त्रसम्बन्धी अध्ययन पनि गरिन्थ्यो । मूर्ति बनाउने कला निकै वृद्धि भयो । सङ्गीत तथा अभिनय प्रारम्भ भयो । त्यस बेला अध्ययनको भाषा संस्कृत थियो ।
यसबाहेक तक्षशिला, नालन्दा, विक्रमशिला, वल्लभी र सोमपुरा आदिका गरिमामय गुरुकुल विश्वविख्यात छन् । त्यसबेला प्रसिद्ध आचार्यद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेका शिक्षार्थीले ठूलो सम्मान पाउँथे । रामले महर्षि विश्वामित्र एवं वशिष्ठद्वारा सञ्चालित गुरुकुलमा अध्ययन गरेको देखिन्छ भने कृष्णले सन्दीपनी गुरुकुलमा अध्ययन गरेको पाइन्छ । त्यसैगरी पाण्डवले ऋषि द्रोणाचार्यको गुरुकुलमा अध्ययन गरेको कुरा संस्कृत साहित्यबाट स्पष्ट हुन्छ । गुरुकुलमा अध्ययन गरेका राम, कृष्ण र पाण्डवहरूले कति सम्मान पाए भन्ने कुराको लेखाजोखा गर्न सकिंदैन ।
नेपालको शैक्षिक परम्पराको इतिहासमा पहिलो गुरुकुल मटिहानीस्थिति राजकीय संस्कृत माध्यमिक विद्यालयलाई मानिएको छ, जहाँ बालागुरु षडानन्दले अध्ययन गरेका थिए । उक्त गुरुकुल रामलालदास (तस्मैया बाबा)ले विसं १७५१ मा अनौपचारिकमा आरम्भ गरे । यस हिसाबले यो गुरुकुल तीन सय वर्षभन्दा पुरानो हो । नेपाल धेरैजसो ऋषिमुनिको जन्म र कर्मस्थल रहेको छ । त्यो प्राचीन समयमा गुरुकुल पद्धतिबाट निश्शुल्क आवासीय शिक्षा चारै वर्णका शिष्यहरूलाई दिइन्थ्यो । शिष्यहरू ८ देखि १० वर्षको उमेरमा गुरुको आश्रममा जान्थे र २५ वर्षको उमेरसम्म ब्रह्मचर्यको पालन गर्दै शिक्षा ग्रहण गर्दथे ।
गुरु र शिष्यबीच पिता र पुत्रको सम्बन्ध हुन्थ्यो । शिक्षा आर्जनका लागि अहिलेजस्तो शुल्क तिर्नुपर्दैनथ्यो, तर गुरु आश्रममैं बसेर शिक्षा ग्रहण गर्नुपर्ने भएकोले आवासीय शिक्षा पद्धति थियो । गुरु र शिष्य एउटै परिवार थिए । गुरुकुलको खर्च गाउँलेको दानबाट चल्थ्यो । गुरुकुल शिक्षाको व्यवस्था गाउँदेखि टाढा जङ्गलमा गरिन्थ्यो । त्यसबेला छात्र र छात्रा दुवैलाई शिक्षा दिने गरेको पाइन्छ ।
शिष्यहरू राजपरिवारका हुन् वा सर्वसाधारण परिवारका, भिक्षाटनबाट प्राप्त अन्न, वनबाट ल्याएको दाउरा, तरकारी खेती, आश्रमका गौमाताहरूको सेवा गरेर भोजनको प्रबन्ध गर्थे । राजा र सम्पन्न व्यक्तिले गुरुकुलहरूलाई आर्थिक सहयोग गर्थे, तर गुरुकुलहरू राज्यको नियन्त्रणभन्दा बाहिर हुन्थे ।
शिक्षा समाप्तिपछि सामथ्र्य हुनेले गुरुदक्षिणा दिनुपथ्र्यो र नहुनेले पर्दैनथ्यो । यहाँ विद्यार्थीले कम्तीमा पनि पच्चीस वर्षको उमेरसम्म बस्नुपर्दथ्यो । भाषा र गणितबाट अध्ययन शुरू गरेर वेद र दर्शन पढ्दथे । सोह्र–सत्रको उमेर पुगेपछि इच्छानुकूल विषय पढ्दथे–जस्तोः सैनिक कला, शिल्पकला, वाणिज्य, कृषि, दण्डनीति, आयुर्वेद तन्त्र इत्यादि । गुरुकुलबाट निस्केका शिष्यहरू बेरोजगारी रहनु पर्दैनथ्यो, किनकि त्यहाँ १४ विद्या र ६४ कला सिकाइन्थ्यो । १४ विद्यामा चार वेद, चार उपवेद, अर्थशास्त्र, राज्य शिल्प, आर्थिक नीति र सैन्य रणनीति, धनुर्वेद, गन्धर्व वेद, आयुर्वेद, वेदाङ्गको ज्ञान दिइन्थ्यो ।
६४ कला धातु साधन–विभिन्न धातुहरू मिश्रण र अलग गर्ने कला, वास्तु विद्या–भवन निर्माण कला, शुकसारिका– सुगा–मैनाको भाषा बुझ्ने कला, छन्द तथा अभिधान कोषजस्ता विद्याहरू पर्दथे ।
गुरुकुलमा अध्ययन गरेका आर्यभट्टले ईसाको पाँचौं शताब्दीतिर खगोलशास्त्रको रचना गरे । गुरुकुलकै उत्पादनले प्राचीन समयदेखि नै शताब्दीऔं टिक्ने ठूला–ठूला भवनहरू निर्माण भए । यसरी गुरुकुलमा धर्मशास्त्र मात्रै अध्ययन नगराई जीवन उपयोगी सबै शिक्षा दिने गरिन्थ्यो ।
नेपालमा जंगबहादुरको पालामा यशुकुलको जग राखियो । राजा महेन्द्र र वीरेन्द्रले यसमा पिलर थपे । गणतन्त्रवादीले पूरै यशुकुलको भवन नै बनाएका छन् । यदि यी सबैलाई विस्थापित गरी शिक्षामा प्राचीन गुरुकुल पद्धति लागू गरे आज हाम्रा युवाहरू बेरोजगारी भई विदेशमा श्रमका दासदासी भएर जानुपर्ने अवस्था आउने थिएन । जतिसुकै नयाँ दृष्टिकोण, नीति कार्यान्वयनमा ल्याए पनि आजको शिक्षा विदेशीहरूको मजदूर उत्पादन गर्ने उद्योगमा मात्र सीमित भए ।
गुरुकुलमा अध्ययनरत विद्यार्थीमा जीवन र जगत्सित परिचित हुने अभ्यास विकसित भएको हुन्छ । प्रत्येक व्यक्तिको जीवनको उद्देश्य वैदिक साहित्य, पुराण, ब्रह्मसूत्र, गीता, उपनिषद्जस्ता पूर्वीय वाङ्मयको अध्ययन, मनन तथा सन्ध्या–वन्दन, यज्ञादिको अनुशीलन, मातापिता, गुरुजन, वृद्ध व्यक्तिको सेवा साथै जीवजन्तु, पशुपक्षी, एवं बोटबिरुवाप्रति आत्मिक मैत्रीभाव मात्र हुनुपर्छ । यस्तो उद्देश्य प्राप्ति गुरुकुल शिक्षाबाट मात्र सम्भव छ । यसका साथसाथै गुरुकुलमा अध्ययन–अध्यापन गर्ने आचार्य र विद्यार्थीहरूले योगाभ्यासद्वारा ईश्वरको साक्षात्कार गरेर भौतिक पदार्थबाट पाउन सकिने आनन्द प्राप्त गर्दथे ।
गुरुकुलमा संस्कृत अथवा नेपाली भाषाका माध्यमबाट अध्यात्म, वैदिक साहित्य, उपनिषद्, पौराणिक साहित्यजस्ता विषयहरू अध्ययन अध्यापन हुनु नितान्त आवश्यक छ ।
अन्त्यमा,
हाल आधुनिक शिक्षाको नाममा ११–१२ कक्षामा पढ्ने विद्यार्थीलाई प्राथमिक तहका विद्यार्थीका लागि उपयुक्त हुने किसिमका सुनाइ र पढाइका अभ्यास थोपरेर नेपाली विषयलाई नीरस, स्तरहीन र अरुचिकर बनाइएको छ भने अन्य तहका पाठ्यपुस्तक पनि यस्तै अनावश्यक सूचना र गन्थनले भरिने कुराको सङ्केत ६ कक्षाका पाठ्यपुस्तकबाट अनुमान गर्न सकिन्छ । विद्यार्थीको सिकाइ, मानसिकता र परिपक्वतालाई यतिसम्म बेवास्ता गरिएको छ कि पाठ्यपुस्तकलाई स्तरीय बनाउने नाममा ६ कक्षाको सामाजिक तथा मानव मूल्य शिक्षा पाठ्यपुस्तकमा विद्यार्थीको स्तरले भेट्नै नसक्ने स्तरीकृत भाषा र सूचनाको बाढी सिर्जना गरिएको छ । १८० दिनभित्र सकिने पाठ्यवस्तु पाठ्यपुस्तकमा समावेश गर्नुपर्छ भन्ने अति सामान्य कुरालाईसमेत ध्यान नदिएर ६१ वटा पाठ एउटै विषयमा समावेश गर्ने मूर्खता ६ कक्षाको सामाजिक किताबमा भएको छ । त्यसो त पाठ्यक्रम विकास केन्द्रमा कार्यरत कर्मचारी र उनका आफन्तहरूको हालीमुहाली भएकै कारण स्तरीय पाठ्यपुस्तक र पाठ्यक्रम निर्माण हुन नसकेको यथार्थ सर्वविदित छ ।
प्राचीन गुरुकुल शिक्षा र अहिलेको आवश्यकता अनुसारको शिक्षा नीतिलाई समायोजन गरी एउटा नयाँ किसिमको मोडल तयार गर्ने कि !