भारतको कृषि व्यापारसम्बन्धी नीतिले नेपाली किसान र उपभोक्ता बारम्बार समस्यामा पर्ने गरेका छन् । जब नेपालमा चामल, प्याज वा अन्य कृषि उपजको अभाव हुन्छ, त्यही बेला भारतले ती वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउँछ । उदाहरणका लागि दशैं, तिहार जस्ता मुख्य चाडपर्वका बेला नेपालमा प्याजको माग उच्च हुन्छ, त्यही बेला भारतले प्याज निर्यातमा रोक लगाउने गर्छ । यस्तै, नेपालमा धानको उत्पादनमा कमी आएको बेला चामलको निर्यातमा पनि भारतले प्रतिबन्ध लगाएको इतिहास छ । प्रतिबन्ध नलगाए भन्सार दर बढाएर नेपाली उपभोक्तालाई महँगो भारतीय धान, चामल एवं प्याज किन्न बाध्य बनाउँछ । नेपालमा धान पाक्ने मुख्य सिजन मङ्सिर महीना हो । यसपटक पनि किसानले बजारमा धान ल्याउन लाग्दा भारतीय धान कम मूल्यमा नेपाल भित्रिन थाल्यो । यो रणनीतिले नेपाली किसान आफ्नो उत्पादनको मूल्य घटाउन बाध्य भएको छ । सस्तोमा भारतीय धान भिœयाउने र नेपाली किसानलाई सस्तो मूल्यमा धान बेच्न बाध्य पार्ने यो तरीकाले दीर्घकालीनरूपमा नेपाललाई आत्मनिर्भर बन्ने बाटोमा अवरोध खडा गर्छ ।

नेपालले निर्यात गर्ने वस्तुको कुरा झन् निराशाजनक छ । नेपालले भारततर्फ पठाउने सुपारी, अलैंची, बेसार, अदुवालगायतका अन्य उत्पादनमा भारतीय भन्सारले बारम्बार अवरोध खडा गर्छ । कहिले गुणस्तरको नाममा, कहिले भन्सार दर बढाएर त कहिले अरू नै बहानाबाजी गरेर नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँचबाट रोक्ने गर्छ । यसले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली उत्पादनलाई अवरुद्ध मात्र गर्दैन, उत्पादन बढाउन आवश्यक लगानी र उत्साहलाई पनि कमजोर बनाउँछ । यसले नेपाली किसान क्रमशः कृषि पेशाबाट पलायन हुन्छन् । किसान पलायन हुँदै जाने वा कृषि कर्मदेखि विमुख हुँदै जाने हो भने एक दिन त्यस्तो अवस्था आउँछ, जुन दिन नेपाली उपभोक्ता सय प्रतिशत भारतीय कृषि उपजमा निर्भर हुनेछन् ।

नेपाल–भारतबीचको सम्बन्ध सरकारी तहमा मात्र सीमित नरही जनसम्बन्धमा आधारित छ । जुन आत्मीय र प्रगाढ छ । यही सम्बन्धभित्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक आयाम समेटिएका छन् । यसलाई चटक्क बिर्सिएर भारतले अपनाएको कठोर व्यापारिक नीतिले नेपाली किसान र उपभोक्तालाई बारम्बार पीडित बनाइरहेको छ । नेपालीजनको समस्यालाई बेवास्ता गरेर भारतले छोटो समयमा नेपाली बजार नियन्त्रणमा लिई आफ्नो स्वार्थ साँध्न सक्ला, तर यसले दीर्घकालीनरूपमा दुवै देशबीचको जनस्तरको सम्बन्धमा दरार पैदा गर्ने निश्चित छ । अर्को कोणबाट हेर्ने हो भने भारतीय कृषि नीतिमा देखिएको असमानता नेपालको लागि अवसर पनि हो । नेपालको नीति स्पष्ट र दीर्घकालीन नहुँदा मात्रै भारतीय नीति हामीलाई समस्याजस्तो लागेको हो । आफ्नो उत्पादनको गुणस्तर सुधार, सस्तोमा उत्पादन गर्ने प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय बजारको खोजीमा नेपालको ध्यान केन्द्रित हुनुपर्छ । यसका लागि अन्तरदेशीय व्यापार वार्ता साथै नेपाल र भारतबीच पनि वार्ताको माध्यमबाट व्यापारिक नीतिमा समन्वय, पहल र द्विपक्षीय समझदारी कायम गर्नुपर्छ । यसका साथै भारतीय कृषि उपजमा भर पर्नुभन्दा स्वदेशी उत्पादनलाई सशक्त बनाउदै आत्मनिर्भरता र प्रतिस्पर्धात्मक क्षमताका लागि राज्यले दीर्घकालीन योजना अघि सार्नु जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here