प्रस, वीरगंज, ८ मङ्सिर/
लायन्स क्लब अफ वीरगंज र वीरगंज स्पोट्र्स एकेडेमीद्वारा आयोजित पाँचौं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको उपाधि अग्नि गु्रपले जितेको छ ।
वीरगंज महानगपालिका–१० आदर्शनगरस्थित रङ्गशालामा शनिवार भएको फाइनल खेलमा अग्निले सिद्धार्थ बैंकलाई १८ रनअन्तरले पराजित गर्दै उपाधि जितेको लायन्सका नरोत्तम पाण्डेले बताए । आजको खेलमा पहिले ब्याटिङ गर्दै निर्धारित छ ओभरको खेलमा अग्निले ७१ रन बनाएको थियो । प्रतिउत्तरमा ७२ रनको विजयी लक्ष्यसहित उपाधिको लागि मैदानमा उत्रिएको सिद्धार्थ बैंक ५३ रनमा समेटिएको थियो । आजको खेलको ‘म्यान अफ दी म्याच’ अग्निका मुकुन्द रौनियार घोषित भए ।
विजेता र उपविजेता टीमलाई मधेस प्रदेशका युवा, खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा उनले प्रदेशमा क्रिकेट खेलले गति लिइरहेको बताए । उनले मधेस प्रदेशकी पूजा महतोको नेतृत्वमा नेपाल महिला यू–१९ विश्वकपमा पुगेको र सो टोलीमा मधेस प्रदेशका तीनजना खेलाडी सहभागी रहेकामा गर्व भएको बताए । उनले प्रदेश सरकारले खेलकूद ऐन पारित गरिसकेको र अब चाँडो खेलकूद परिषद् गठन हुने बताए । आफूले खेलको विकासमा विशेष ध्यान दिएको दाबी गर्दै उनले नारायणी रङ्गशाला स्तरोन्नतिका लागि सङ्घ सरकारको खेलकूद मन्त्रालयसँग समन्वय गर्दै आएको बताए । मन्त्री जयसवालले खेलकूदका मैदानहरू र खेलाडीहरूको विवरण अद्यावधिक गर्ने काम पनि भइरहेको बताए ।
वीरगंज स्पोट्र्स एकेडेमीका अध्यक्ष सन्दीप गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पर्साका अध्यक्ष डा विश्वम्भर शर्मा, वीरगंज उद्योग वाणिज्य सङ्घका मनोज उपाध्याय, लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष भानुभक्त अधिकारी, वीरगंज स्पोट्र्स एकेडेमीका वैकुण्ठ श्रीवास्तवलगायतको सहभागिता थियो ।