प्रस, परवानीपुर, ७ मङ्सिर/
पशुबलिका लागि विश्वप्रसिद्ध बाराको बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेला मङ्सिर १ गतेदेखि विधिवत्रूपमा शुरू भएको छ । महागढीमाई नगरपालिका–१ बरियारपुरमा पञ्चवर्षीय गढीमाई मेला शुरू भए तापनि मुख्य मेला मङ्सिर १७ गतेदेखि शुरू हुने मेला मूल समितिले जनाएको छ ।

सो अवधिमा सबैभन्दा बढी भक्तजनहरूको भीड हुने समितिले जनाएको छ । पहिले सवारीसाधनहरू पर्याप्त नभएको र सबैको पहुँचमा निजी सवारीसाधनहरू नभएका कारण मानिसहरूको भीड देखिने गरेको थियो । अहिले मेला शुरू भएसँगै देशका विभिन्न स्थान र भारतका विभिन्न स्थानबाट सवारीसाधन लिएर मानिसहरू मेला हेर्न आउने र जाने क्रम जारी छ । यसैले गर्दा गढीमाई मेलामा परम्परागत भीड नदेखिएको हो ।

सडक सुधार भएको छ र मानिसहरू सवारीसाधनहरूको प्रयोग गर्दै आफू अनुकूलको समयमा गढीमाईको दर्शन गर्दै आएका छन् । मेला शुरू भएसँगै गढीमाई क्षेत्रमा मनोरञ्जनका साधनहरूको तयारी शुरू भएको छ । मनोरञ्जन उपसमितिका संयोजक गजेन्द्र जैसवालले अहिलेसम्म पाँच दर्जन बढीले मनोरञ्जनका लागि स्वीकृति लिएको र सोही अनुसारको व्यवस्थापन भइरहेको बताए ।

झुला, मौतका कुवा, थिएटर, सर्कसलगायतका मनोरञ्जन देखाउने तयारी भइरहेको उनले बताए । उनले मेलाविरुद्ध अफवाह फैलाउने कार्य भएको र मनोरञ्जनका साधनहरू मेलाबाट बाहिरिएको भन्ने कुरामा सत्यता नरहेको बताए । उनले मङ्सिर १३ गतेदेखि मनोरञ्जनका साधनहरूको प्रयोग हुने र अफवाह आफैं सकिने दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here