प्रस, परवानीपुर, ७ मङ्सिर/
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को परीक्षामा गौतम माविकी रिया साह जिल्लामा उत्कृष्ट घोषित भएकी छन् । वीरगंज–१६ नगवामा बस्ने १७ वर्षीया रियाको यस अघि ३.९५ जिपिए थियो र उनी जिल्लामा दोस्रो भएकी थिइन् । एन्जल इन्टरनेशनल स्कूलकी छात्रा आँचल पटेल ३.९६ जिपिए ल्याएर जिल्लामा उत्कृष्ट घोषित भएकी थिइन् । रियाले सबै विषयमा ए प्लस र कम्प्युटरको थ्योरीमा बी प्लस ल्याएकीले उनी दोस्रो भएकी थिइन् ।

रियाले थ्योरीमा ल्याएको बी प्लसमा पुनर्परीक्षणको लागि राष्ट्रिय परीक्षा बोर्डमा निवेदन दिइन् र पुनर्परीक्षणमा उनको दुई अङ्क बढेर ३.९७ जिपिए भएको थियो । योसँगै उनले आँचलभन्दा बढी अङ्क ल्याएर पर्सा जिल्लामा उत्कृष्ट घोषित भएकी हुन् ।

उनको पुनर्परीक्षणबाट अङ्क बढेर जिल्लामा उत्कृष्ट भएपछि शुक्रवार गौतम माविले कार्यक्रम आयोजना गरी रियालाई सम्मान गरेको थियो ।

गौतम माविकी सहायक प्रधानाध्यापिका पिया लामाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा वीरगंज महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, उपाध्यक्ष शिवजी गुप्ता, महानगर अध्यक्ष आलोक चौरसिया लगायतले रियालाई सम्मानित गरेका थिए ।

उनका पिता राजकुमार साहले उत्कृष्ट भएकोमा खुशी व्यक्त गर्दै छोरीको इच्छा अनुसार आइटी इन्जिनीयरको अध्ययन गराउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here