आजीवन भाषा, साहित्य, संस्कृति र कलाको लागि मरिमेटेर लागेका मान सिंहको मृत्युले परिवारमा अपूरणीय क्षति तथा दुःखद परिस्थिति निम्त्यायो । उनी सरकारी कार्यालयका न्यून वेतनी कर्मचारी थिए । उनको तलबमान न त परिवारजनहरूले थाहा पाउँथे, न त खर्चबर्चमैं लाग्थ्यो ।
अस्पतालको गह्ुँगो प्रेश्क्रिप्शनले आँधीबेहरी घरभित्रै निम्त्यायो । लोग्नेको तलब देख्न वा छुनसम्म नपाएकी स्वास्नी औषधोपचारको पिरलोमा परिन् । आर्जन पाएकी थिइन् भने बहालमा बस्नको लागि लिइएको कोठामा बोराभित्र कोचिएका अनगिन्ती पुस्तक र पत्रपत्रिका मात्र । तिनीहरू न त छाक टार्ने समस्यामा सहायक हुन्थे, न त औषधिमूलोमा नै ।
स्वदेशमा उपचार नहुने कुराले निराशा, पीडा र वितृष्णा उब्जायोे । स्वास्नी, सन्तान र शुभचिन्तकहरूको सहयोग माग्न, साथीभाइ गुहार्ने र सम्बन्धित निकायसँग पनि अनुरोध गर्ने सुझाव र सल्लाहलाई उनले सुन्नै मानेनन् । बरु यसै मर्ने तर स्वाभिमान नबेच्ने हठमा अडिग रहे । उनको विचारको परवाह नगरी केही व्यक्तिहरू मान सिंह सहयोग समिति बनाएर आर्थिक सहयोग जुटाउने काममा कम्मर कसेर लागे । सडकमा हुनेले भरथेग गरे, तर हुनेखानेले पटक्कै चासो नलिएको कारण उपचार गर्न विदेश त के स्वदेशकै साधनस्रोत सम्पन्न अस्पतालसम्म पु¥याउन पनि सम्भव भएन । उनको दुःखद अन्त्य भयो ।
मान सिंह सहयोग समितिले जम्मा गरेको चन्दा रकमबाट काजकिरियाको बन्दोबस्त भयो र १३औं दिनमा सानो श्रद्धाञ्जलिसभा गरियो । १४औं दिन सरकारी सञ्चारमाध्यमले मान सिंहको मृत्युमा सरकार र सम्बन्धित निकायहरू दुःिखत भएको बताउँदै राजधानीमा गरिने शोकसभामा देशका वरिष्ठ राजनीतिज्ञ, समाजसेवी र साहित्यकारहरूलाई आत्माको चिरशान्तिको लागि प्राथना गर्न उपस्थित भइदिन सविनय अनुरोधको सूचना प्रसारण ग¥यो ।