उत्तर आधुनिक युगले अहिले सूचना, जानकारी एवं खबरको बाढी ल्याएको छ । अहिले सूचना, जानकारी एवं विचार सम्प्रेषण गर्न पहिलेभन्दा निकै सजिलो भएको छ । कसैको मनमा उत्पन्न भएको विचार उसले एक मिनेटभित्रमा नै संसारभरि फिजाउन सक्छ । फेसबूक, ट्विटर, युटुब, इस्टाग्रामलगायत अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर एक छिनमा नै कुनै पनि सूचना, विचार, जानकारी संसारभरि फिजाउन सकिन्छ । अर्कोतिर समाचार, सूचना आदिको उत्पादन र प्रकाशन पनि पहिलेभन्दा निकै सस्तो र सजिलो भएको छ । कतिपय अवस्थामा अहिले आफ्नो विचार संसारभरि पु¥याउन एक पैसा पनि खर्च गर्नु नपर्ने अवस्था छ । निश्शुल्क गर्न सकिन्छ । यो कारणले गर्दा अहिले संसारभरि नै जताततै सूचना, जानकारी, समाचार, विचार आदिको बाढी नै आए जस्तो छ । तर हामीसमक्ष आउने ती सूचना, विचार, जानकारी, समाचार आदि के सत्य हुन्छन् ? के ती सूचना, विचार, जानकारी आदिले हामीलाई राम्रो विचार निर्माण गर्न योगदान पु¥याउँछन् ? ती सूचना, जानकारी, विचार आदि हाम्रो लागि जीवनोपयोगी छन् ? के ती जानकारी, सूचना, विचार आदिले हामीलाई सही दिशातर्फ लाग्न उत्प्रेरित गरिरहेका छन् ? यो उत्तर आधुनिक युगमा हामीले यी प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ । यी यक्ष प्रश्नहरूको उत्तर नखोज्ने हो भने हामी गलत विचारहरूको शिकार हुन सक्छौं । आफ्नो अहित अरूद्वारा होइन, आफैंद्वारा गर्न सक्छौं ।
माथिका प्रश्नहरूको उत्तर दिनुपूर्व आउनुहोस् हाम्रो विचार, सोच आदि कसरी निर्माण हुन्छन्, त्यसबारे चर्चा गरौं । जसरी खाना पकाउनका लागि विभिन्न वस्तुहरूको आवश्यकता पर्छ, त्यसैगरी हामीले कुनै खास किसिमको सोच, विचार एवं धारणा बनाउनका लागि हामीलाई विभिन्न किसिमका सूचना, विचार, जानकारी आदिको आवश्यकता पर्छ । उपलब्ध रहेका सूचना, जानकारी, विचार आदि पढेर, सुनेर वा देखर हामीले कुनै घटना, अवस्था, स्थिति वा विचारप्रति खास किसिमको धारणा बनाउने गर्छौं । अर्थात् हामीलाई खास विचार, धारण, सोच आदि निर्माण गर्नका लागि समाजमा उपलब्ध रहेका सूचना, जानकारी, समाचार आदिले सहयोग पु¥याउँछन् । हाम्रो विचार, सोच, दृष्टिकोण एक उत्पादित वस्तु हो भने त्यो वस्तु उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ समाजमा उपलब्ध रहेका सूचना, जानकारी, समाचार आदि हुन् । यसरी हामीले सही, सत्य, उचित सूचना, जानकारी, समाचार आदि पाइरहेका छौं भने हामीले निर्माण गर्ने विचार वा दृष्टिकोण पनि सही हुन्छ तर हामीले प्राप्त गर्ने समाचार, जानकारी, सूचना आदि गलत भएमा हामीले निर्माण गर्ने सोच, विचार आदि पनि गलत हुन पुग्छ । अनि हामी गलत विचारको शिकार हुन पुग्छौं ।
उत्तर आधुनिक युगमा उपलब्ध गलत सूचना, विचार, समाचार आदिले हाम्रा विचारहरू प्रदूषित पारिरहेका छन् । अर्थात् यो उत्तर आधुनिक युगमा हाम्रो विचारहरू प्रदूषित भएका छन् । हाम्रो विचार निर्माण प्रकिया नै गलत हुन पुगेको छ ।
अहिले बजार वा समाजमा उपलब्ध हुने सूचना, जानकारी, समाचार, हाम्रो सन्दर्भ, मुख्यगरी दक्षिण एशियामा केवल लगभग ५० प्रतिशत जति मात्र सत्य हुन्छन्, बाँकी झूट वा भ्रामक एवं पूर्वाग्राही हुन्छन् । कसरी ?
सामाजिक सञ्जालबाट प्रेषित खबर, विचार, जानकारी आदि लोक जानकारीको लागि मात्र हुँदैन, ती व्यापारिक उद्देश्यका साथ आय वा मुनाफा आर्जन गर्नका लागि कोहीद्वारा प्रेषित गरिएका हुन्छन् । केही समाचार वा जानकारी अत्यधिक व्यक्तिले पढेमा, सुनेमा वा हेरेमा त्यो समाचार वा जानकारी प्रेषित गर्ने व्यक्तिले जुन सामाजिक सञ्जालबाट ती कुराहरू सार्वजनिक गरेको हो, त्यस सामाजिक सञ्जालबाट उसले आम्दानी प्राप्त गर्छ ।
समाचार वा जानकारी बढीभन्दा बढी व्यक्तिहरूसमक्ष पुगोस् र आफूले बढीभन्दा बढी पैसा पाउँ भन्ने उद्देश्यका साथ प्रेषित गरिएका खबरहरू लोकहितभन्दा लोक–मनोविज्ञान शोषणका लागि हुन्छन् । अर्थात् त्यस्ता समाचार एवं जानकारी आदिलाई उत्तेजक, आकर्षक, अति प्रिय पारेर प्रेषित गरिएको हुन्छ, जसले गर्दा श्रोता (पाठक, दर्शक, श्रोता)हरू त्यसप्रति सजिलै आकर्षित हुन्छन् र त्यस्ता सूचना, जानकारी आदि अति पढ्छन, सुन्छन वा हेर्छन् । श्रोताहरूले त्यस्तो गरिदिनाले यता त्यस्ता सूचना, वा जानकारी प्रेषित गर्नेहरूले राम्रो आम्दानी हात पार्छन् ।
माथि उल्लेख गरिएका कारणले गर्दा हामीले सत्य, असल वा राम्रो सूचना, जानकारी, विचार, दृष्टिकोण प्राप्त गर्दैनौं । गलत, भ्रामक सूचना, जानकारी आदि प्राप्त गर्छौं । र तिनकै आधारमा एक खास विचार वा दृष्टिकोण निर्माण गर्छौं । यसरी हामी गलत विचार, दृष्टिकोण आदिको निर्माण गर्न पुग्छौं ।
निष्कर्षमा भन्ने हो भने यो उत्तर आधुनिक युगमा अधिकांश सूचना, जानकारी, विचार, खबर हाम्रो हितका लागि हुँदैनन् । प्रेषक वा प्रकाशकको हितका लागि हुन्छन् । प्रेषकहरूले हाम्रो मनोविज्ञान र वर्तमान स्थितिको अति फाइदा उठाइरहेका छन् ।
विभिन्न पत्रपत्रिकाहरूबाट हामीले पाउने समाचारहरूको स्थिति पनि दयनीय छ । पत्रपत्रिकाहरूले पनि आफ्नो सुविधा अनुसार वा आफूलाई फाइदा हुने किसिमका खबरहरू प्रकाशित गर्छन् । खबरहरू त्यस्ता आउँछन्, जुन प्रकाशकलाई हित गर्ने किसिमका हुन्छन्, पाठकहरूलाई हित गर्ने किसिमका हुँदैनन् । सत्य र तथ्य समाचारहरू प्रकाशित नहुने भने होइन, हुन्छन् तर अल्पसङ्ख्यामा ।
उत्तर आधुनिक युगलाई हामी आधुनिक युगभन्दा पनि सुधारिएको मानिरहेका छौं तर हाम्रो व्यवहार भने वन युगझैं छ । हामी जङ्गली जीवनतिर लागिरहेका छौं । जङ्गली युगमा जो शक्तिशाली थियो, उसलाई बाँच्न सजिलो भएझैं यो उत्तर आधुनिक युगमा पनि बलियोले मात्र बाँच्न पाउने स्थिति क्रमिकरूपमा विकास हुँदैछ । सूचना, जानकारी, विचार, खबर, जुन अधिकांश असत्य एवं भ्रामक छन्, ले यो संसारमा केवल बलिया व्यक्तिहरू बाँच्न पाउने स्थिति सृजना गरिरहेका छन् ।
स्थिति अहिले यस्तो छ कि हाम्रोबारेमा सङ्कलन गरिएका अनेक जानकारीहरू पनि बिक्री गर्ने कार्य भइरहेका छन् । हामीसँग सम्बन्धित जानकारीहरू अनेक संस्थाहरूले अन्य संस्थाहरूलाई बिक्री गरेर लाखौं रुपैयाँ कमाइरहेका छन् । पहिले हाम्रोबारेमा सङ्कलन गरिएका जानकारीहरूको उपयोग मानव कल्याणको लागि हुन्थ्यो, अहिले पनि भने मुनाफाका लागि भइरहेको छ । सामाजिक सञ्जाल सञ्चालन गर्ने अनेक संस्थाहरूले हामीबाट सङ्कलन गरिएका सूचना, जानकारी आदि बिक्री गरेर करोडौं रुपैयाँ कमाइरहेका छन् ।
सामाजिक सञ्जालमा प्रेषित हुने अहितकारी सूचना, जानकारी, खबर, मनोरञ्जनका सामग्रीहरू हाम्रो हितमा छैनन् भनी सोच्न पनि हामीसँग समय छैन, चासो पनि छैन । अर्कोतिर हामी सामाजिक सञ्जालको अत्यधिक उपयोग गर्छौं । एक अनुसन्धानका अनुसार अहिले संसारभरि नै (जहाँ इन्टरनेट सेवा उपलब्ध छ) प्रत्येक व्यक्तिले दिनको करीब तीन घण्टा सामाजिक सञ्जालको प्रयोग गरेको देखिएको छ । व्यक्तिहरूमा सामाजिक सञ्जालमा समय बिताउने, अनावश्यक किसिमले कुराकानी गर्ने, अहितकर सामग्रीहरू हेर्ने, सुन्ने, पढ्ने लत बसेको छ । सामान्य व्यक्तिहरूमा यस किसिमको लत लगाएर अनेक संस्थाहरूले राम्रो आम्दानी हात पारिरहेका छन् ।
जसरी एक शिशु जो गर्भमा छ, उसले गर्भबाट बाहिर आउन नौ महीना कुर्नुपर्छ, जसरी एक भ्रूणले पूर्ण शिशुको रूप धारण गर्न नौ महीना कुर्नुपर्छ अर्थात् समयका अनेक चरणहरू पार गर्नुपर्छ, त्यसैगरी एक बालकले एक युवकको मनोविज्ञान वा चेतनाको स्तर प्राप्त गर्न अनेक वर्षहरू पार गर्नुपर्छ वा अनेक चरणहरू पार गर्नुपर्छ । एक बालकले समयका विभिन्न चरणहरू पार गरेपछि मात्र एक युवकको झैं चेतना प्राप्त गर्छ । यो एक स्वाभाविक प्रक्रिया हो । तर अहिलेको सूचना, जानकारी, खबर, विचार आदिको बाढीले केवल पाँच/सात वर्षको बालक वा बालिकालाई युवकको जतिको चेतनाको स्तरमा पु¥याइदिन्छ । बालबालिकाहरूले अहिले अनियन्त्रित किसिमले सूचना, जानकारी, खबर, विचारहरू आदि प्राप्त गरिरहेका छन् । यी अनियन्त्रित सूचना, जानकारी, खबर, विचार आदिले बालबालिकाहरूलाई कलिलो उमेरमा नै उमेरदार तुल्याइदिइरहेका छन् । केवल वयस्क उमेरमा थाहा पाउनुपर्ने कुराहरू अहिले बालबालिकाहरूले कलिलो उमेरमा नै थाहा पाइरहेका छन् । यो दुर्भाग्यपूर्ण स्थितिको जनक पनि उत्तर आधुनिक युग नै हो । एक व्यक्तिमा उमेर अनुसार शारीरिक एवं वैचारिक स्थितिमा परिवर्तन आउनुपर्छ । यस्तो हुनु आवश्यक पनि छ । तर अहिले सूचना, जानकारी, खबर, विचार आदिको बाढीले कम उमेरमा नै बालबालिकाहरूलाई वयस्क तुल्याइदिइहेको छ । उनीहरूलाई अनेक किसिमका अपराधहरू गर्न प्रेरित गरि रहेको छ । बालबालिकाहरूलाई अनावश्यक किसिमले यौन चेतना सानै उमेरमा प्राप्त भइरहेको छ । यो स्थितिलाई के उत्तर आधुनिक युगको त्रासदी भन्न सकिंदैन ? (अमेरिका)
साभारः समकालीन साहित्य