प्रस, पोखरिया, ६ मङ्सिर/
कालिकामाई गाउँपालिका–१ मुडलीस्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूले बिहीवार लगाएको ताला सहमतिमा खुलेको छ ।
विषयगत शिक्षक नभएर पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरूले आज सो विद्यालयमा तालाबन्दी गरी प्रदर्शन गरेका थिए । उनीहरूले बिहान नाराबाजी गर्दै विद्यालयको मूलद्वारमा तालाबन्दी गरेका थिए ।
कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र शुरू भएको सात महीना बितिसक्दा पनि विज्ञान, सामाजिक, अर्थशास्त्र र अङ्ग्रेजी विषयका शिक्षकहरू नभएको र त्यसको व्यवस्थापन गर्नेतर्फ पहल नभएको भन्दै विद्यार्थीहरू आक्रोशित भएका थिए ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले विषयगत शिक्षकको व्यवस्था गर्न विद्यालय प्रशासनलाई पटकपटक ध्यानाकर्षण गराउँदासमेत चासो नलिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
विद्यालय स्रोतका अनुसार तीनजना विषयगत शिक्षक नियुक्तिका लागि चार महीना पहिले विद्यालय प्रशासनले आवेदन माग गरेको थियो । तर प्रधानाध्यापक राजेश तिवारी, वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबाबू चौरसिया र सहायक प्रधानाध्यापक जयप्रकाश चौरसियाबीच शिक्षक नियुक्तिमा भागबन्डा नमिल्दा नियुक्ति प्रक्रिया स्थगित गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चौरसियाले विषयगत शिक्षकको अभाव रहेको स्वीकारेका छन् । उनले चार महीना पहिले विज्ञानलगायतका विषयगत शिक्षक नियुक्तिका लागि विज्ञापन आह्वान गरेको भएपनि केही कारणवश स्थगित गर्नुपरेको बताए ।
विद्यार्थीहरूको प्रदर्शनपछि आज गापाध्यक्ष वशिष्टकुमार गुप्ता, वडाध्यक्ष एवं विव्यसका अध्यक्ष चौरसिया, प्रअ तिवारी, अभिभावक, विद्यार्थीहरूसमेतको सहभागितामा चाँडो प्रक्रिया पूरा गरी अविलम्ब विषयगत शिक्षक नियुक्त गर्ने विषयमा सहमति भएको र तालाबन्दी खोलाइएको थियो ।