प्रस, वीरगंज, ६ मङ्सिर/
प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजले बालबालिकाको लागि बिहीवार स्वर्णबिन्दु खोपको थोपा खुवाएको छ । प्रत्येक महीना पुष्य नक्षेत्रका दिन प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजले जन्मेदेखि पाँच वर्ष पुगेका बालबालिकाहरूलाई स्वर्णबिन्दुको थोपा खुवाउँदै आएको छ ।
बालबालिकाको मस्तिष्कको विकास एक वर्षदेखि पाँच वर्षबीच सबैभन्दा बढी हुने गरेको र स्वर्णबिन्दु कार्यक्रमले उनीहरूको मानसिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने भएकोले बालबालिकालाई स्वर्णबिन्दु खुवाउन एकदमै जरुरी हुने प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजका प्रमुख डा शिवनारायण गुप्ताले बताए ।
प्रत्येक महीना सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट बालबालिकाको प्रतिरक्षा प्रणाली बढ्नुका साथै उनीहरूको रोग प्रतिरोधात्मक क्षमता बढ्ने, पाचनशक्ति बढ्ने, शरीरमा बल प्रदान गर्नुका साथै समग्र स्वास्थ्यस्थिति राम्रो बनाउने गर्छ । यसले निमोनिया, झाडापखाला लाग्न नदिनुका साथै तौल नबढ्नेजस्ता समस्याबाट समेत छुटकारा दिने गरेको डा गुप्ताले बताए ।
उनले भने– स्वर्णबिन्दु थोपाले बालबालिकालाई कुनै नकारात्मक प्रभाव पार्दैन । स्वर्णबिन्दु आयुर्वेदका विज्ञ चिकित्सकले सुरक्षित तवरले तयार पारिएको आयुर्वेदिक औषधि भएको र चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मीको सल्लाहमा थोपा खुवाउने गरिएको प्रमुख डा गुप्ताले बताए ।
उनले बालबालिकाहरूलाई स्वर्णबिन्दुको थोपा खुवाएको आधा घण्टासम्म कुनै पनि प्रकारको खानेकुरा नखुवाउने र यस अवधिमा आमाले आफ्नो दूध पनि सेवन गराउन नहुने बताए । उनले स्वर्णबिन्दुको थोपा खुवाएर त्यसको कुनै विकृत असर देखिए अविलम्ब चिकित्सकको सल्लाह लिन सुझाए । बिहीवार कार्यालय परिसरमा आयोजित स्वर्णबिन्दु कार्यक्रममा ३०६ जना बालबालिका सहभागी भएको उनले बताए । उनले एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाहरूलाई सन्तुलित आहार सेवन गराउन सुझाए । साथै यो उमेर समूहका बालबालिकाहरूलाई टेलिभिजन र मोबाइलबाट टाढा राख्नु उचित हुने बताए ।
कार्यक्रममा डा शिवम जैसवाल, डा नम्रता जैसवाल, प्रशासन प्रमुख नागेन्द्रप्रसाद पटेल, दिनेश साह, सङ्गीता कुमारीलगायत स्वास्थ्य स्वयंसेविकाहरूले सहयोगी भूमिका निर्वाह गरेका थिए ।