प्रस, निजगढ, ६ मङ्सिर/
निजगढ नगरपालिका–४ पुरानोटोल बागदेवस्थित ऐतिहासिक बाघभैरव थानीमाई मन्दिर क्षेत्रलगायत त्यहाँ रहेका संरचनाहरू वर्षौंदेखि उपेक्षामा पर्दै आएका छन् । स्थानीय तथा बाह्य पर्यटकहरूका लागि ऐतिहासिक र आकर्षक मनोरम पर्यटकीय क्षेत्र रहेको यहाँ पार्क बनाउन सकिने सम्भावना रहे पनि स्थानीय तहले यसमा चासो नदेखाउँदा अहिलेसम्म उपेक्षाको शिकार भएको हो ।
विश्वको कान्छो पर्वत शृङ्खला चुुरे फेदमा रहेको यो स्थानमा जरुवा पानी रहेको र त्यस बेला काठको डुँड बनाएर खानेपानीको जोहो गरिन्थ्यो । काठको डुँड पुुरानो भएपछि २०५५ सालमा देउँसीभैलो खेलेर सङ्कलन भएको सात हजार तीन सय रुपैयाँबाट सिमेन्टको डुँड हालेर धारा बनाएको र सरसफाइ गरिएको देउँसीभैलो समूहका अध्यक्ष धनपति तिमल्सिनाले बताए । सोही वर्ष पूजाआजा र मेलासमेत लगाएको उनले जानकारी गराए ।
२०५० साल अघि निजगढमा पिउने पानीको हाहाकार हँुदा लगभग सडकटोल बस्तीदेखि माथिल्लो भेगका लगभग आठ सयभन्दा बढी घरधुरीको पिउने पानीको मुख्य स्रोत नै यही पानीको धारा भएको स्थानीय रुद्रनाथ तिमल्सिना बताउँछन् । चुरे पहाडको गर्भभित्रबाट अटुुटरूपमा पानी बग्ने गरिरहे पनि अहिले पहिलेको भन्दा अलि कम पानी झरिरहेको उनले बताए ।
हिउँद, सुक्खा याममा पनि यहाँको पानीको स्रोत नसुुक्ने भएकोले त्यस बेलामा चन्द्रशम्शेर राणा तराईको चारकोशे झाडीमा शिकार खेल्न आउँदा यही विश्राम लिने, यही जरुवा धाराको पानी पिउने गरेको स्थानीय ८३ वर्षीय इन्द्रप्रसाद तिमल्सिनाले बताए ।
उनी भन्छन्– यहाँको पानी पिउँदा आत नै शीतल भएर आउँछ । पानी स्वादिलो पनि छ । अझै गर्मीयाममा खेतबारीमा काम गर्दा, गोठाला जाँदा, घाँसपात ल्याउँदा प्यास लागेको बेला यो धाराको पानी पिउँदा निकै आनन्द हुने गरेको उनी सम्झन्छन् ।
पहिले तराईमा औलो रोगको महामारीले अकालमा धेरै मानिसको ज्यान जाने गरेको थियो । त्यस बेला आफ्नो ज्यान जोगाउन चुुरे पर्वत शृङखलामा बसोवास गर्ने र अनुुकूूल मिलाएर त्यहींको खेतीयोग्य जमीनमा खेतीपाती गर्दै आएका थिए । १९८२ सालतिर चुरे पहाड डाँडा बागदेवबाट खेतीपाती गर्न बिस्तारै मानिसहरू फेदतिरझरेकै कारण अहिले घनाबस्ती बस्न सम्भव भएको स्थानीय बूढापाकाहरू बताउँछन् ।
अटुुटरूपमा झरिरहने पानीको धारा माथिल्लो भागमा लगभग २०३२ सालतिर नागदेवताको थान तत्कालीन उपप्रधानपञ्च हीरासिंह खड्काले स्थापना गरेको बताइन्छ । २०१५ सालभन्दा अघि बाघभैरव थानीमाई देवी रूखको फेदमा स्थापना भएको स्थानीयहरूको भनाइ छ । शुरूका वर्ष तामाङ समुुदायका स्थानीय विष्णुुलाल लामाले थानीमाईको पूूजा गर्दै आएकाले पुुस्ता हस्तान्तरण गरी हाल पनि उनकै जेठा छोरा सुकदेव घलान पुजारी रहेको स्थानीय भीमबहादुुर कार्कीले बताए । पुजारी घलानलाई प्रत्येक घरधुरीले बर्सेनि एक पाथी धान दिने पुरानो चलन अहिले पनि कायम रहेको स्थानीय रामकुुमार सिग्देल बताउँछन् ।
चुरे पहाडसँगै फेद आसपासमा करीब पाँच बिघा क्षेत्रफल रहेको यो क्षेत्रमा धनेश्वर महादेव मन्दिर, अशोक वाटिका पोखरी स्थानीय समाजसेवीहरूले चन्दा सङ्कलन गरी निर्माण गरेका थिए । शहीद हीरालाल पार्कको क्षेत्र छोएको यस क्षेत्र धेरै वर्ष पहिल्यै निर्माण गरिएका मठमन्दिर र अन्य संरचनाहरू जीर्ण हुँदै गएका स्थानीय पार्वती तिमल्सिना बताउँछिन् ।
यहाँको प्राकृतिक भूबनोट अनुसार संस्कृति, कला र सभ्यतालाई झल्काउने मठमन्दिर, पार्कलगायतका संरचना निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्ने स्थानीय इन्द्रबहादुुर विक बताउँछन् ।