प्रस, परवानीपुर, ६ मङ्सिर/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले वीरगंज वरपरको क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी पाँच दिनमा रु चार लाख जरिवाना असुल गरेको छ । रजतजयन्ती चोकदेखि गण्डक चोकसम्म बाइपास र ४० फिटे इनरबाइपास सडक किनारमा नियमविपरीत सवारी पार्किङ गर्नेहरूलाई कारबाही गरेर मङ्सिर १ देखि ५ गतेसम्म चार लाख पाँच हजार जरिवाना असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्टले बताए । उनले यस अवधिमा दैनिक ३० भन्दा बढी सवारीसाधनलाई ह्वील लक गरिएको र ४६१ साना/ठूला सवारीसाधनलाई कारबाही गरिएको बताए । बाइपास, इनरबाइपास र महानगरका विभिन्न क्षेत्रमा सवारीसाधन जथाभावी सवारीसाधन राख्नेहरूलाई कारबाही गरिएको बताए । उनले महानगरका विभिन्न स्थानमा अनधिकृत पार्किङ गर्ने सवारीसाधनसहित नगर क्षेत्रका मुख्य सडक र सहायक सडकहरूमा ट्राफिक नियम पालना नगरेर सवारीसाधन सञ्चालन गर्नेहरूलाई चेकजाँच बढाएर कारबाही भइरहेको बताए । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनातर्फ चालकहरूलाई जिम्मेवार बनाउन ट्राफिक नियम पालना कार्यक्रमलाई गति प्रदान गरिएको बताए । प्रनि भट्टले मङ्सिर ५ गतेसम्म २०८ वटा ट्रक र ट्याङ्करबाट दुई लाख ३७ हजार, ३५ वटा कार, जीप र भ्यानबाट २६ हजार, १७ वटा टेम्पोबाट १५ हजार, सातवटा बस, मिनीबसबाट छ हजार पाँच सय, ११ वटा ट्याक्टरबाट नौ हजार पाँच सय, १८३ वटा मोटरसाइकलबाट एक लाख १० हजार पाँच सय गरी कुल ४६१ वटा सवारीसाधनबाट चार लाख पाँच हजार राजस्व सङ्कलन गरिएको बताए ।

जिल्ला ट्राफिक कार्यालय पर्साले नियमविपरीत सवारी पार्किङ अभियान चलाइरहँदा यसको असर भने वीरगंज भन्सार कार्यालयदेखि मितेरीपुलसम्मको क्षेत्रमा भने लागू गर्न सकेको छैन । वीरगंज भन्सार कार्यालयदेखि मितेरीपुलसम्म कैयन महीनादेखि भारतीय सवारीसाधनहरूको अनधिकृत पार्किङ जारी छ । खासगरी चार चक्के सवारीसाधन २४सैं घण्टा सो क्षेत्रमा पार्किङ गरिन्छन् । भन्सारमा सशस्त्र प्रहरीको गस्ती टोली सक्रिय छ, त्यसपछि इनर्वा प्रहरी चौकी अनि त्यसपछि पनि सशस्त्रको टोली परिचालित छन् । तर पनि महीनौंदेखि सो क्षेत्रमा भारतीय सवारीसाधनहरूको अनधिकृत पार्किङ जारी छ । नेपाली नागरिकहरूले भारतीय नागरिकको नाममा भन्सार राजस्व छली गर्न भारतीय नम्बरको चार चक्के सवारीसाधन खरीद गर्ने र भन्सार बिन्दुमा अनधिकृत पार्किङ गर्दै आएको स्थानीयले बताए । यो अनधिकृत पार्किङबाट सशस्त्र र जनपद प्रहरीले आर्थिक लाभ लिइरहेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here