प्रस, वीरगंज, ५ मङ्सिर/
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरले वीरगंजका होटलहरूको वर्गीकरण तथा लोगो नवीकरण कार्य शुरू गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरले बुधवारदेखि विभिन्न होटलहरूको भान्साको सरसफाइ, खाद्यजन्य पदार्थहरूको भण्डारण गर्ने विधि र कोल्डचेन प्रविधिलगायतको अनुगमन गरी खाद्य स्वच्छता स्तरको आधारमा होटलहरूको स्तर निर्धारण गरी वर्गीकरण गर्न शुरू गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरको संयोजन एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वीरगंजका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वमा आज वीरगंजका १० वटा होटलको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा सबै होटलका भान्सा, भण्डारण गरिएको खाद्यजन्य वस्तुहरूको चेकजाँच गर्नुका साथै टेस्टो मिटरद्वारा भान्सामा प्रयोग गरिएका तेलको गुणस्तर जाँच गरिएको खाद्य अनुसन्धान अधिकृत सिंहले बताए ।

अनुगमन टोली संयोजन सदस्य एवं होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले अनुगमन गरिएका १० वटा होटलमध्ये सरोबर प्रोटिक होटल, होटल लड्र्स दियालो र भिस्वा होटल गरी तीनवटा होटललाई खाद्य स्वच्छताको आधारमा अति उत्तम (‘घ’ स्टार) प्रमाणीकरण गरी लोगो वितरण एवं नवीकरण गरिएको बताए । उनले लोगो वितरणमा होटललाई पक्षपात नगर्ने प्रतिबद्धता जनाए ।

पन्तले वीरगंजका सबै होटललाई खाद्य स्वच्छता अभियानमा सरिक भएर उपभोक्तालाई स्वच्छ र स्वस्थ खानाका परिकारहरू पस्कन अनुरोध गरे ।

अनुगमन टोलीले खाद्य स्वच्छताको आधारमा होटल पूजन, होटल मकालु र अनमोल स्वीट्सलाई उत्तममा वर्गीकरण गरेर दुई तारे लोगो वितरण गरेको थियो । यसैगरी, कन्ट्रीइन होटल, कैलाश होटल र मेजबान होटललाई एक तारे लोगो दिइएको थियो भने डिलाइट गो रेस्टुरेन्टलाई सामान्य सङ्केत दिएर केही सुधारको निर्देशन दिएको थियो । अनुगमन टोलीले होटलका सञ्चालकहरूलाई खाद्य स्वच्छता प्रतिबद्धतापत्रमा सही गराएर हस्तान्तरण गरेको थियो ।

अनुगमन टोलीमा वाणिज्य कार्यालय, वीरगंजका प्रमुख सुनील चौरसिया, वीरगंज उद्योग वाणिज्य सङ्घका मनोजकुमार दास, वीरगंज महानगरका प्रतिनिधि विभा मिश्र र जिल्ला प्रशासन कार्यालय पर्सा तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरू सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here