प्रस, वीरगंज, ५ मङ्सिर/
प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजले पाँच वर्षमुनिका बालबालिकालाई भोलि मङ्सिर ६ गते बिहीवारका दिन स्वर्णबिन्दु खोप खुवाउँदैछ ।
यो कार्यक्रम प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजले प्रत्येक महीना सञ्चालन गर्दै आएको छ । बालबालिकाको प्रतिरक्षा प्रणाली बढाउने उद्देश्यले प्रत्येक महीना पाँच वर्षमुनिका बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आएको प्रादेशिक आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालय वीरगंजका प्रमुख डा शिवनारायण गुप्ताले बताए । उनले स्वर्णबिन्दु कार्यक्रमबाट बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने बताए ।
उनले बालबालिकाको मस्तिष्कको विकास एकदेखि पाँच वर्षको बीचमा सबैभन्दा बढी हुने गरेको र स्वर्णबिन्दु कार्यक्रमले उनीहरूको मानसिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताए । उनले पाँच वर्षमुनिका बालबालिकाहरूलाई स्वर्णबिन्दु खुवाउन जरुरी रहेको भन्दै तोकिएका स्थानमा आफ्ना बालबालिकालाई स्वर्णबिन्दु खुवाउन आग्रह गरे ।
स्वर्णबिन्दु सेवन गरेका बालबालिकाहरू निमोनिया, झाडापखाला जस्ता बिरामीहरूबाट मुक्त हुने र उनीहरूको तौल वृद्धि हुने बताए । उनले बालबालिकाहरूलाई स्वर्णबिन्दु खुवाएर स्वस्थ र आरोग्यता प्रदान गर्न आग्रह गरे ।
उनले चालू आवको साउन २० गते भदौ १५, असोज ११, कात्तिक ८ गते स्वर्णबिन्दु खुवाएको र भोलि मङ्सिर ६ गते खुवाउने कार्यक्रम रहेको बताए । यसैगरी, पुस ३, माघ २, फागुन २६, २०८२ को वैशाख २१, जेठ १८ र असार ११ गते स्वर्णबिन्दु खुवाउने कार्यक्रम रहेको प्रमुख डा गुप्ताले जानकारी गराए ।